सक्रिय हुँदै कांग्रेस युवा

तु खबर संवाददाता
२०७६ जेष्ठ ३१, शुक्रबार ०९:०२

तीनै तहको निर्वाचनमा कांग्रेसले नमीठो पराजय बेहोरेपछि युवा नेताहरू जुर्मुराउन थालेका थिए । फरकफरक गुटमा रहेका भए पनि निर्वाचन समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा ७ युवा नेताले संयुक्त प्रस्ताव पेस गरे । ती युवाहरू अहिले पनि पार्टीका प्रौढ नेताहरूसँग सन्तुष्ट छैनन्, तर उनीहरू पनि आपसमा भिन्नभिन्न समूहमा बाँडिएका छन् ।

अघिल्लो वर्ष युवा नेताहरूले छाया सरकार गठन, शीघ्र महाधिवेशनदेखि समुन्नत नेपाल बनाउन भन्दै पार्टीसमक्ष २० वर्षे कार्यक्रमको विस्तृत खाका मागेका थिए । जसमा गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रामकृष्ण यादव र जीवन परियार थिए । केन्द्रीय समितिको बैठकमा संयुक्त प्रस्ताव पेस गर्दै उनीहरूले निर्वाचनमा कम्युनिस्टभन्दा कांग्रेस धेरै पछि परेको भन्दै पार्टीलाई नव जीवन दिन २० वर्षे कार्यक्रम चाहिने तर्क गरे ।

‘कांग्रेसभित्र वैकल्पिक समूहका रूपमा युवा नेता छन् भनेर हामी आफैँ अपग्रेड हुने, कांग्रेसबीच उत्साह भर्न सक्थ्यौँ । तर सुरुमै हाम्रो लफडा प¥यो । मैले र गगनजीले विशेष महाधिवेशनको कुरा ग(यौँ,’ अभियानमा सक्रिय युवा नेता प्रदीप पौडेल भन्छन्, ‘विशेष महाधिवेशन भन्ने शब्द हाल्ने हो भने मेरो हस्ताक्षर हुँदैन भनेर विश्वप्रकाश शर्माले भन्नुभयो । उहाँ पनि नछुट्नुहोस भनेर हामीले यो शब्द हटायौँ । त्यसपछि त्यो वक्तव्य नै काइते भयो ।’ पहिलो बैठकमा विश्वप्रकाश र अरू बैठकबाट अरू नेता बिस्तारै अन्यत्र लाग्न थालेपछि समस्या भएको पौडेल बताउँछन् ।

पार्टी सुधार कार्ययोजनाको त्यही प्रस्ताव गत पुसमा भएको महासमिति बैठकमा पनि पेस भएको थियो । तर, बैठकमा पेस गर्दा पनि नेताहरू सबै दरिलो गरी एक ठाउँमा उभिएनन् । वर्तमान नेतृत्व, सिनियर नेताहरूको कार्यशैली, सोच र चिन्तनले पार्टी प्रभावकारी नहुने भन्दै एक हुने अठोट लिएका उनीहरू महासमितिसम्म आइपुग्दा सुस्ताउन पुगे ।

युवाहरूमा संगठित हुने चाहना छ, भरपर्दो कोसिस छैन
एकपटकको प्रयास असफल भए पनि युवा नेताहरूले पुनः पार्टीको पुरानो मानसिकताप्रति एक हुने प्रण गर्न छोडेका छैनन् । युवा नेताहरू पौडेल र गुरु घिमिरे कांग्रेसमा नयाँ विकल्प र आशाको केन्द्रका रूपमा युवा नेताहरू अझै एक ठाउँमा उभिन सक्ने दाबी गर्छन् । ‘जुन दिन प्रारम्भ गरेका थियौँ, त्यसमा दायाँबायाँ नगरी निरन्तरता दिएर आजसम्म आएको भए त्यो समूह कहाँ पुगिसक्थ्यो ।

आज विश्वप्रकाशजी प्रवक्ता हुनुहुन्छ । उहाँको एक ढंगको उचाइ बढेको छ । प्रवक्ता छोडेर हामीसँगै आएको भए पनि उहाँको उचाइ अवश्यै बढ्थ्यो,’ पौडेल भन्छन्, ‘हामीले आमकार्यकर्ताबीच भरोसा आशाका नेताका रूपमा विश्वास दिलाउन सक्थ्यौँ । युवा नेताहरूले नै केही गर्छन् भन्ने सन्देश दिन सक्थ्यौँ । तर, हामीसँग फेरि पनि मौका छ ।’

महासमिति बैठकले युवा नेताहरूलाई पुनः अवसर दिएको घिमिरेको पनि बुझाइ छ । ‘जागरण अभियानका क्रममा देशभरका कार्यकर्ताहरू केन्द्रबाटै पार्टी सुधार होस् भन्ने चाहनामा छन् । सभापतिदेखि रामचन्द्र पौडेल, ४८ सालयता पार्टी नेतृत्व र सरकारको नेतृत्वमा कमजोरी भएको कुरा कार्यकर्ताले उठाए,’ घिमिरे भन्छन्, ‘मन्त्री हुँदा, सरकारमा जाँदा कसले के ग(यो ? संसद् विघटन हुँदा, अन्तरकलह कसरी सुरु भयो ? यसको कारण के हो भन्नेसहितका दर्जनौँ प्रश्न लिएर उनीहरू उभिएका छन् । यस्तोमा नयाँ पुस्ताप्रति आशा देखिन्छ । यसलाई हामीले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ ।’

गुटगत रूपमा छरिएर रहेका युवा नेताहरू कांग्रेसको आउँदो महाधिवेशनमा के एक ठाउँमा उभिएलान् ? यसअघिको अभ्यास हेर्दा कुनै समूहबाट पदको प्रस्ताव आउँदा एक ठाउँमा उभिएर लड्ने प्रण कमजोर बनेको देखिन्छ ।

गुटको फेरोबाट निस्कनै डराउँछन् युवा नेताहरू

पुरानो पुस्ताका नेताहरूप्रति आक्रोशित हुने र आशा नहुने भए पनि युवा नेताहरूले समेत पार्टीका तल्लो तहका नेता कार्यकर्तामा आवश्यक उत्साह भर्न भने सकेका छैनन् । युवा नेताहरू पनि पार्टीमा विभिन्न गुट र उपसमूहमा सक्रिय छन् । भिन्नभिन्न गुटमा भएका हुनाले नै युवा नेताहरूको अभियान कमजोर बनेर जाने नेता घिमिरे बताउँछन् । ‘मेरो भविष्य र भूमिका के हुने भन्ने मनोविज्ञान साथीहरूमा छ । म भोलि सडकमा फालिने हुँ कि भन्ने चिन्ता साथीहरूमा देखिन्छ,’ घिमिरे भन्छन्, ‘लोभमुक्त र आकांक्षामुक्त हुँदा एक ठाउँमा उभिने वातावरण बन्छ ।

हामी दुई दर्जनभन्दा बढी युवा साथीहरूले पार्टीको केन्द्रमा उठ्दैनौँ, सांसदको उम्मेदवार बन्दैनौँ, तर पार्टी संगठनको लागि काम गर्छौँ भन्ने प्रण गर्न सके पार्टी थप बलियो बनेर जान्छ ।’ निर्वाचनमा उठ्न लोभ नगरी पार्टी काममा नेताहरू सक्रिय भए कार्यकर्तामा उत्साह देखिने र पहिलो पुस्ताले अर्कोपटक युवाहरूलाई भरोसा गर्ने दिन आउने उनी बताउँछन् ।

१४औँ महाधिवेशनमा युवा एकै ठाउँमा उभिएलान् ?
कांग्रेसको महाधिवेशन आउन नौ महिना बाँकी छ । तर, समयमा नभएर एक वर्ष धकेलिने सम्भावना छ । गुटगत रूपमा छरिएर रहेका युवा नेताहरू के आउँदो महाधिवेशनमा एक ठाउँमा उभिएलान् रु यसअघिको अभ्यास हेर्दा कुनै समूहबाट प्रस्ताव आउँदा एक ठाउँमा उभिएर लड्ने प्रण त्यत्तिकै कमजोर बनेको देखिन्छ । ‘एक दुई पदको लोभ पुराना नेताहरूले देखाउलान् । ठूला पद पछिल्लो पुस्तालाई दिनेवाला छैनन् ।

भोलि अधिवेशनसम्म जाँदा पदाधिकारीको सेट युवा नेताहहरूभित्रैबाट पनि बन्न सक्ने गरी छलफल घनिभूत ढंगले अगाडि बढाउने तयारीमा छौँ,’ पौडेल भन्छन्, ‘हाम्रै सिको गरेर आन्तरिक विषयलाई उठाउने आँट अरूले पनि गरे । नेतृत्वलाई सच्याउनका लागि दबाब दिने काम गरिरहन्छौँ । अधिवेशन नजिक आउँदा मूल नेतृत्वले गल्ती गर्दा संगठित भएर उठाउने विषय परिस्थितिजन्य घटना हुन् ।’

कांग्रेसको हालै सम्पन्न जागरण अभियानको पहिलो चरणमा पार्टीको परम्परागत शैलीप्रति तीव्र असन्तुष्टि र विरोधको फाइदा युवा नेताहरूलाई देखिन्छ । गुटबन्दीबाट बाहिर निस्केर कार्यकर्ताको भावना टिप्न सके युवा र किशोर कार्यकर्ताको मन जित्न सक्ने सामथ्र्य युवा नेताहरूमा देखिन्छ । नाम चलेका युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङसहितका जोसिला र कार्यकर्तामा प्रभाव भएका नेताहरू कार्यकर्ताहरूबीच लोकप्रिय छन् । महाधिवेशनसम्म पुग्दा गुटकै फेरो समातेर प्रौढ नेताहरूकै अन्तर्गत जाँदा भने युवाहरूको आशा खण्डित हुने देखिन्छ ।

युवाहरूबीचमै अर्को समूहको पनि पहल

गगन, प्रदीप र गुरुहरूसँगै मिलेर एउटै प्रस्ताव ल्याउने तयारी गरे पनि नवीन्द्रराज जोशीसहितका नेताहरूले भने छुट्टै प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका थिए । १५ नेताहरूको त्यो प्रस्तावमा युवा सातजना नेताहरूको पनि हस्ताक्षर छ । जसमा नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराईको हस्ताक्षर थियो ।त्यस्तै, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, किरण यादव र सरिता प्रसाईंले पनि त्यसमा हस्ताक्षर गरेका थिए ।

महासमितिसम्म आइपुग्दा पनि यिनी दुवै समूहतिरका युवाहरूको समूहले एउटै प्रस्तावमा सहमति जनाउन सकेन । यी युवा नेताहरूको अनुहार हेर्दा देउवाइतर समूहहरूमा बढी युवा नेता देखिन्छन् ।

युवाहरू सिंगो राजनीति नै फेर्न लाग्नुपर्छ स् विश्वप्रकाश शर्मा

सभापतिको भेला, महासमितिको बैठक भयो, विधान बन्यो, हालै पहिलो चरणको जागरण अभियान सकिएको छ । पार्टीका यी कार्यक्रमले नवीन ऊर्जा दिएको छ । अब हामी सबै नेताहरू सिंगो पार्टीलाई उठाउन लाग्नुपर्छ । यी सबैमा योजना बनाउन युवाहरू लाग्नुपर्छ । एउटा विज्ञप्ति निकालेर मात्र हाम्रो दायित्व पूरा हुँदैन ।

युवा नेताहरूमाथि स्वाभाविक रूपमा आशा हुन्छ । जागरुक भएर नेतृत्वमा आऊन् भन्ने अपेक्षा जनताले गरेका छन् । सिंगो राजनीतिप्रति आशा देखाउन युवा लाग्नुपर्छ । कांग्रेसको मात्र होइन, सिंगो राजनीतिको रूपान्तरणमा लाग्नुपर्छ । सम्पूर्ण पार्टीलाई उठाउने प्रयासमा युवा नेताहरू लाग्नुपर्छ ।

हामी फेरि युवा नेताहरू सँगै अघि बढ्छौँ स् प्रदीप पौडेल
युवाहरूको अभियान थाल्ने गगनजी र म यथावत छौँ । सुरु गर्ने सातजना त्यो भावनामा आज पनि छौँ । हामीले अरूलाई समेट्न सकेनौँ होला । तर, हामी यथास्थितिमा रहँदा पार्टी चल्न सक्दैन । नेतृत्वदेखि कार्यशैलीसम्मका केही वैचारिक विषय नसच्चाएसम्म पार्टी अगाडि जान सक्दैन भन्ने निष्कर्ष यथावत छ । पछिल्लो समयमा बैठक भएको छैन । तर, जुन भावनाले हामीले साथीहरूलाई जोड्न खोजेका थियौँ ।

साथीहरू जोडिने बाटो राम्रो छ । कसैले आक्रामक ढंगले संगठित हुने कोसिस ग(यो भने यसलाई फुटाउने नीति पुरानो नेतृत्वको हुन्छ । हामीले पुस्तालाई नै जोड्न खोजे पनि यिनीहरूलाई चोइट्याइदिऊँ भन्ने पनि देखियो । यस्तो रणनीतिको खतरा फेरि पनि छ । यस्तो रणनीतिलाई हाम्रो भावनासँग जोडिन चाहनेको सक्रियताले जित्न सक्छ ।

हामीलाई राम्रो गर्ने अवसर छ स् गुरु घिमिरे

हामीले पहिले युवाहरूलाई समेटेर कार्यकर्ता र तल्लो तहका युवामा उत्साह भर्न खोजेको हो । महासमिति बैठकपछि थप कुरा हुन पाएको छैन । पहिले पनि दुईरचार राउन्ड कुरा भएर महासमितिमा डकुमेन्ट पेस गरेका हौँ । फेरि हामी छलफललाई अघि बढाउँछौँ, जागरण अभियानबाट गतिला फिडब्याक प्राप्त भएका छन् । सरकारले आफ्ना गतिविधिलाई कसरी अघि बढाउँछ, अधिनायकवाद छ, जन अधिकारमा धावा बोलिरहेको छ । यसविरुद्ध हामीले सशक्त आवाज उठाएर कार्यकर्ताको मन जित्न र उनीहरूमा उत्साह भर्नुपर्नेछ ।

आजको नयाँ पत्रिकामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*