लोकसेवा आयोगको विज्ञापन रद्द गर्न काँग्रेसको आग्रह
काठमाडौं ३० जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्ने पार्टीको अडान रहेको प्रष्टयाएका हुन् ।
उनले सो सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पारे ।
प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताए ।
