मकवानपुरको राक्सिराङमा नेकपाको दुईदिने प्रशिक्षण
मकवानपुर २२ जेठ । मकवानपुरेको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीले दुई दिवसीय प्रशिक्षण सुरु गरेको छ ।
राक्सिराङ गाउँपालिका वडा नं. ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ गाउँपालिकाका ९ वटै वडाका संयोजक र सह–संयोजकहरु अनिबार्य रुपमा सहभागी गराइएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य लालबहादुर थापाले बताए ।
उनका अनुसार मंगलबार ३ नं वडाको भेलाको उद्घाटन समारोहलाई प्रशिक्षणात्मक बनाइएको थियो । भेलालाई सम्बोधन गर्न जिल्ला अध्यक्ष मुन सिग्देल, सचिव प्रेमबहादुर पुलामी, पूर्व सांसद गोविन्दराम चेपाङ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, जिल्ला सदस्य बनस्तम थिङ, चेपाङ मुक्ति मोर्चाका महासचिव खुसीलाल चेपाङ लगायत नेताहरु पुगेका थिए ।
उत्तमकुमार वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा २९ सदस्यीय ३ नं वडा कमिटी निर्माण भएको छ । सो अबसरमा नेपाली काँग्रेस, विप्लव माओवादी, राप्रपा लगायत विभिन्न पार्टीहरु परित्याग गरी ३० जनाभन्दा बढीले नेकपामा आबद्धता जनाएका थिए ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीको राक्सिराङ गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम निरन्तर चल्ने भएको छ ।
