काँग्रेसको विकल्प अन्य पार्टी छैन : नेता केसी
मकवानपुर १२ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपालको लागि कांग्रेसको विकल्प अन्य पार्टी र शक्ति नभएको बताएका छन् ।
आईतबार नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिको आयोजनामा पदमपोखरीमा भएको जागरण अभियानमा बोल्दै प्रमुख अतिथि नेता केसीले कांग्रेसबाहेक कुनै लोकतान्त्रिक शक्ति नेपालको भविष्य निर्माणको विकल्पमा अहिलेसम्म नदेखिएको बताएका हुन् ।
अहिलेका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली दुईतिहाईको दम्भले निन्द्रामा पनि बर्बराउने गरेको भन्दै जतिबेला जे पनि गर्न सक्ने भएकाले कांग्रेसले त्यसको सामना गर्न तयार रहेको उनले बताए ।
देश र जनताको साख, सम्मान गर्दै तीनवटा ठूला एेतिहासिक आन्दोलन गरेर देशलाई यो स्थानमा ल्याउन सफल भएको बताउँदै उनले बृहत् छलफल र समिक्षाबाट कांग्रेस अब एकढिक्का भएर लाग्ने बताए ।
कम्युनिष्ट सरकारले गरेका नेपालको कानून र संविधान मिच्दै विभिन्न गलत निर्णय, वाईडबडीदेखि जलविद्युतसम्म व्यापक भ्रष्टाचार, शोषण, हत्याहिंशा बलात्कारीलाई प्रश्रय मात्रै दिईरहेकाले यसको बारेमा आम जनतालाई जानकारी गराउँदै खबरदारी र भण्डाफोर गर्नको लागि कांग्रेसले देशैभर जागरण अभियान थालेको बताए ।
