काँग्रेसको जागरण कार्यक्रममा झडप हुँदा एक जना घाइते
सिन्धुपाल्चोक २६ वैशाख । नेपाली काँग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ रहेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट हुँदा अध्यक्ष श्रेष्ठ घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।
जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।
श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको काँग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए ।
