मेयर महतको योजना विरुद्ध बोलिन् विष्णु ओझा, दिइन् पछुताउनुपर्ने चेतावनी
मकवानपुर, २० वैशाख । समावेशी आयोगकी सदस्य बिष्णु ओझाले हेटौंडाको हुप्राचौरमा सटर र प्याराफिट बनाउने कुराले दुखी भएको बताएकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत् उनले बुहचर्चित हुप्रा प्रकरणमा आफ्नो धारणा राखेकी हुन् ।
‘खुला चौरमा सटर हाल्ने कुरा उठ्नै हुँदैनथ्यो, यो अधिकांश जनताको भावना विपरित छ, उनले भनेकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हुप्रामा प्याराफिट र सटर निर्माण गर्ने योजना अघि सारेपछि स्थानीय विरोधमा उत्रिएका छन् । केहीले त सो कार्यको विरोध गर्दै कालो झण्डा समेत गाढेका छन् ।
एमाले नेतृ समेत रहेकी ओझाले समेत सटर निर्माण कार्यको विरोधमा अभिव्यक्ति दिएकी हुन् । सटरको कन्सेप्ट हटाएर सपिङ महल बनाउनु पर्ने योजना अघि सारेकी
छिन् ।
सबै वडामा कम्तीमा एउटा पार्क बनाउनु पर्ने भन्दै ओझाले वालमैत्री पार्कको निर्माण गर्न सुझाएकी छिन् ।
अहिलेको समय वादविवाद गर्ने नभई असल काम गरेर जनतालाई सेवा सुविधा दिनुपर्ने धारणा ओझाको छ । चौर मास्ने कार्यले पछि पछुताउनुपर्ने उनको धारणा छ ।
