नेपालीसँग बिहे गर्ने विदेशीलाई ७ वर्षपछि मात्र नागरिकता दिने विवेकशील पार्टीको प्रस्ताब
काठमाडौं १७ वैशाख । साझा विवेकशील पार्टीले नेपाली नागरिकसँग विहे गर्ने विदेशी नागरिकले नेपाली नागरिकता लिन ७ वर्ष स्थायी बसोबास गरेको व्यवस्था गर्नुपर्ने धारणा राखेको छ ।
नागरिकता विधेयकमाथि मंगलबार आफ्नो धारणा राख्दै साझा विवेकशील पार्टीले महिला या पुरुष जो भए पनि नेपालीसँग विहे गरी आउने विदेशी नागरिक ७ वर्ष नेपालमै स्थायी बसोबास गरेपछिमात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको हो ।
‘नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिन्छ’ प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ ‘त्यसो गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुन्छ ।’
हाल नेपालमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विदेशी नागरिकता त्याग गरेको प्रमाण पेश गर्नेवित्तिकै नागरिकता पाउने व्यवस्था छ भने नेपाली महिलासँग विहे गरेका विदेशी पुरुषले नागरिकता पाउने व्यवस्था छैन ।
