राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो । नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ४३ जना सदस्य सहभागी रहेका छन् ।
उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् ।
