मकवानपुर क्याम्पसको कक्षा कोठामा सीसीटिभी राख्न खोज्दा प्रध्यापक संघको अपत्ति

तु खबर संवाददाता
२०७५ चैत्र ३०, शनिबार १०:०३

मकवानपुर, ३० चैत । मकवानपुर बहुमुखी क्याम्पसका कक्षा कोठाहरुमा सीसीटिभी जडान गर्न खोज्दा प्राध्यापक संघले आपत्ति जनाएको छ ।
क्याम्पसको अनुशासन कायम गर्न र सुरक्षाको दृष्टिकोणले सीसीटिभी राख्न खोजिएको छ । तर, त्यसमा प्राध्यापक संघले आपत्ति जनाउँदै कक्षा कोठामा सीसीटिभी राख्न नहुने बताएको छ ।

प्राध्यापक संघका अध्यक्ष भोजराज ढकालले कक्षा कोठामा सीसीटिभी जडान गर्दा त्यसले प्राध्यापकहरुलाई ‘डिमोरलाइज’ गर्ने बताए । क्याम्पसमा जे काम गर्नु पर्ने हो त्यो हुन सकेको छैन, यो काम नगर्दा पनि हुने हो, उनले तु खबरसँग भने । उनले भने अनुसार, क्याम्पसको कक्षा कोठामा सीसीटिभी जडान गर्नुपर्ने आवश्यकतानै छैन ।

क्याम्पस प्रशासनले क्याम्पसको अनुशासनलाई मर्यादित बनाउन र नियमन तथा अनुगमन गर्न सीसीटिभी जोड्ने तयारी गरिरहेको छ । तर, त्यसमा प्राध्यापक संघको आपत्ति भएपछि काम निश्कर्षमा पुग्न सकेको छैन ।

मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारीले भने प्रध्यापक संघको कुनै आपत्ति नरहेको बताए । त्यस्तो केही आपत्ति भएजस्तो लाग्दैन, उनले भने ।