सार्वजनिक यातायातमा भाडा छुट प्रकरण : आन्दोलन गर्ने मुडमा विद्यार्थी
मकवानपुर, ३० चैत । मकवानपुरका विद्यार्थीहरुले कानून बमोजिमको ४५ प्रतिशत भाडा छुट पाउन सकेका छैनन । प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाहरुको बैठकले ४५ प्रतिशत छुट कार्यान्वयन गर्ने सहमति गरेका भएपनि सो सहमति विपरित अहिले म्याजिक, साझा यातायातहरुले भाडा छुट दिन आनाकानी गरिरहेका छन् ।
हिजो यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रजिअ आस्मान तामाङको अध्यक्षतामा बैठक बसेको थियो । तर, बैठकले उचित निर्णय लिन नसकेपछि विद्याथीहरु आक्रोशित बनेका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी रामकृष्ण शिवाकोटीका अनुसार, प्रजिअको अध्यक्षतामा भएको बैठकमा भाडा छुट पूर्ण कार्यान्वयन गर्न भनिएको भएपनि सवारीधनीहरुले इन्कार गर्दै आइरहेका छन् । केही सार्वजनिक सवारीसाधनले ४५ प्रतिशत भाडा छुट दिएका भएपनि अधिकांश सवारीसाधनले यस्तो भाडा छुट दिन मानेका छैनन ।
विद्यार्थीलाई भाडा छुटमा सेवा दिन पर्ने भएपछि म्याजिक, साझा यातायात तथा अन्य केही सार्वजनिक यातायातले विहान र बेलुका विद्यार्थी
बोक्दैनन् ।
हामीले बारम्बार सरोकारवालाको ध्यानाकर्षण गराएका छौँ, तर सवारीसाधनहरु निर्णय कार्यान्वयन गर्न मानिरहेका छैनन, त्यसैले उनीहरुमाथि कारवाही हुनुपर्छ, शिवाकोटीले तु खबरसँग भने । सवारीधनीहरु भाडा छुट दिन तयार नहुने र प्रशासनले पनि उचित कदम नचाल्ने हो भने हामी विद्यार्थीहरुले नै थप आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने हुन्छ, उनले भने ।
