पत्रकारको हितमा केन्द्रित भएर काम गर्न सरकारलाई आग्रह

तु खबर संवाददाता
२०७५ चैत्र २८, बिहीबार १३:५७
file-photo

काठमाडौं २८ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

बिहीबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको ‘दोसो अन्तराष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’को उद्घाटन गर्दै उनले सूचना र प्रविधिको क्षेत्रको विकास गरेर मात्रै मुलुकको समृद्धि हुने भएकाले त्यसको विकासमा सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता खनालले सूचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्नुपर्ने जरुरी रहेको पनि बताए । सूचना र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्र्याउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिए ।