सचिवले काम नगरेको भन्दै सामाजिक विकास मन्त्रीले लगाए सचिवको कार्यकक्षमा ताला

तु खबर संवाददाता
२०७५ चैत्र २७, बुधबार १७:०४

मकवानपुर, २७ चैत । प्रदेश न. ३ सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

सचिवले काम नगरेको भन्दै सचिव लोकनाथ पौड्याललाई स्पष्टिकरण सोधेको र अघिल्लो मितिमा फाइल सदर लगायतका काम नगरुन् भनेर आफूले ताला लगाएको मन्त्री दुलालले तु खबरलाई बताए ।

समयमा काम नगरेको भन्दै मन्त्री दुलाल सचिव पौड्यालसँग रिसाएका थिए । जतिभन्दा पनि कामै गर्न नमानेपछि उनलाई स्पष्टिकरण सोधिएको मन्त्रालय स्रोतले जनाएको छ । स्पष्टिकरण पेश गर्न भनिएको छ, मन्त्रालयले भन्यो ।

लामो समयदेखि फाइलहरु स्वीकृत नगरी चाङ लगाएर राखेकोमा मन्त्री असन्तुष्ट बनेका छन् । चाङ लगाएर राखिएका फाइलहरु त्यतिकै छन्, जिम्मेवार भएर काम गर्नुपर्यो नि उनले काम गर्ने छाँटकाँट नै देखाएनन्, त्यसैले कार्यकक्षमा ताला लगाइदिइएको हो । स्पष्टिकरण सोधेपछि अघि कै मितिमा भटाभट स्वीकृत गर्ने अवस्था देखेर मन्त्रीज्युले ताला लगाइदिनु भएको हो, मन्त्रालयका एक कर्मचारीले भने ।

सचिव लोकनाथ पौड्यालले भने आफू १० दिनको घर विदामा बसेको बताए । १० दिनको घर विदा स्वीकृत गराएर बसेको हुँ, अरु मलाई केही थाहा छैन, उनले भने ।
मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले सचिव पौड्याल घर विदामा रहनु भएको बताए । उहाँ घरविदा स्वीकृत गरेर बस्नु भएको छ, उनले भने ।

 

र, यो पनि पढ्नुहोस्

– अपडेट : स्पष्टिकरण सोधेको छु,पहिलेको मितिमा सही नगरोस् भनेर ताला लगाइदिएको हुँ : मन्त्री दुलाल

– मन्त्री दुलालले लगाए सचिवको कार्यकक्षमा ताला