नेपाली काँग्रेसका जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने 

तु खबर संवाददाता
२०७५ चैत्र २१, बिहीबार १२:२७

काठमाडौं २१ चैत्र । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षर अभियान चलाउने तयारी गरेका छन् ।

बुधबारदेखि काठमाडौंमा शुरु भएको जिल्ला सभापतिको दुईदिने अनौपचारिक भेलाका सहभागीले पार्टीको महासमिति बैठकको भावनाअनुसार केन्द्रीय कार्यसमितिबाट निर्णय गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले सो अभियान चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

काँग्रेस महासमिति बैठक गत मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो ।

भेलामा जम्मा ४१ सभापतिकोे उपस्थिति रहेको र त्यसमध्ये अधिकांशले आफ्ना धारणा राखिसकेका छन् । नौ सभापति बुधबार राति मात्र आइपुगेको र आज सबैले आफ्ना धारणा राखिसकेपछि भेला सम्पन्न हुने काठमाडौँका सभापति कृष्ण बाँनिया (सबुज) ले जानकारी दिए । भेलामा उपस्थित हुन नसकेका केही सभापतिले टेलिफोनबाट पनि आफ्ना धारणा राखेका थिए ।