रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर पिएसबीमा रुपान्तरित हुने
काठमाडौं २० चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन् ।
रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना र अनुसन्धानमा आधारित प्रसारण संस्थाका रुपमा रुपान्तरित हुन आग्रह गरे ।
पिएसबीका लागि भौतिक र कानूनी प्रबन्ध शुरु भइसकेको छ । स्रोत र दर्शककोसमेत प्रतिनिधित्व हुने संरचनासहित स्वायत्त संस्थामा रुपान्तरित गरिने पिएसबीको अवधारणामा उल्लेख छ ।
