देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने : प्रधानमन्त्री ओली
दमक, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताएका छन् । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उनले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।
झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताए ।
देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।” देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उनको भनाइ थियो ।
