मकवानपुर गोल्डकपको फाइनल आज : फिजिकल पावर भर्सेस स्ट्राटेजी

तु खबर संवाददाता
२०७५ चैत्र १६,शनिबार १०:१०

हेटौंडा, १६ चैत / दोस्रो सहीद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल आज शनिबार हुँदैछ । १० टिम सहभागी रहेको गोल्डकपको क्वार्टर र सेमिफाइनलबाट आठ टिम बाहिरिँदै क्यामरुनी टोली दाउफिन्स र आयोजक मकवानपुर–११ उपाधि भीडन्तका लागि मैदानमा उत्रने तयारीमा छन् ।

उपाधिका लागि संघर्ष गर्न मैदानमा उत्रने तयारीमा रहेका यी दुबै टोलीले सशक्त टिमसँग दबाबपूर्ण खेलको सामना गर्दै फाइनल यात्रा तय गरेका हुन् । दाउफिन्सले क्वार्टरफाइनलमा ए डिभिजन क्लब हिमालयन शेर्पा र सेमिफाइनलमा थ्रीस्टारलाई पाखा लगाएका थियो । मकवानपुर–११ ले उद्घाटन खेलमा मछिन्द्रलाई हराउँदै क्वार्टरमा बाइ पाएपछि सोमिफाइनलमा पुलिसविरुद्ध जित हात पार्दै फाइनल यात्रा तय गर्यो ।

फाइनल खेलको सन्दर्भमा खेल मैदान वन विज्ञान अध्ययन संस्थानमा आयोजित प्रिम्याच कन्फरेन्समा प्रतिक्रिया दिँदं मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठले दाउफिन्सलाई हराएर उपाधि जित्ने दाबी गरे । ‘घरेलु मैदानमा खेल्दै छौं । जितको लागि संघर्ष गर्नेछौं । दाउफिन्सलाई जित्न असजिलो छैन तर, हामीसँग उपाधि जित्ने आँट छ ।–’ प्रशिक्षक श्रेष्ठले भने ।

प्रशिक्षक श्रेष्ठले दाउफिन्सका सबै खेलाडीमा फिजिकल पावर भएपनि आफ्नो टिमले टेक्निकल रणनीति अनुसार खेल प्रस्तुत गरेर उपाधि उचाल्ने जिकिर गरे । उनले थ्रीस्टारसँग फाइनलमा प्रतिष्पर्धा हुँदा केहि सहज हुने बताए । ‘थ्रीस्टारसँग भिड्दा केहि सहज हुने थियो ।’ उनले भने ‘थ्रीस्टार र हामी फिजिकल पावरमा बराबर सरह थियौं त्यसो हुँदा टेक्निकल खेलले रोचकता थपिन्थ्यो ।’

शारिरीक रुपमा दाउफिन्सका खेलाडी बलियो भएको भन्दै प्रशिक्षक श्रेष्ठले मकवानपुरले पनि बलियो भएर फाइनलमा उत्रिने बताए । उनले रेफ्रीको उचित निर्णयले खेल राम्रो हुने सुझाव दिए । उनले खेलमा मकवानपुरले झगडा गरेर नखेल्ने प्रष्टाए । बिहीबारको थ्रीस्टार र दाउफिन्सको दोस्रो सेमिफाइनल खेलमा झगडा भएको थियो । ‘खेलाडी अनुशासित भएर खेल्छन् । तर, दर्शकहरु घरेलु टिमको समर्थनका कारण उत्तेजित हुन सक्छन् ।–’ श्रेष्ठले भने ।

मकवानपुर–११ का कप्तान अशोक बरालले खेलमा शारिरीक रुपमा बलियो भएरमात्र नपुग्ने भन्दै प्राविधिकरुपमा पनि बलियो हुनुपर्ने बताए । उनले दाउफिन्स शारिरीक रुपमा बलियो भए आफ्नो टिम प्राविधिकरुपमा बलियो भएको दाबी गरे । मकवानपुरेलाई उपाधि जितेर खुशी बनाउने कप्तान बरालले सुनाए ।

दाउफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले उपाधि जित्नकै लागि मकवानपुर गोल्डकपमा आएको दाबी गरे । उनले फाइनल पुग्नु सामान्य नभएको भन्दै दाउफिन्स अब्बल टिम भएको प्रतिक्रिया दिए । टिममा २ जना विंगर र १ जना फर्वाड राम्रो भएको बताए । मगरले आफ्नो टिमको खेलप्रति आफू सन्तुष्ट नभएको गुनासो सुनाए । खेलाडीले टिमवर्कलाई वेवास्ता गरेर एक्लै आफ्नै शैलीमा खेलेको आरोपसमेत लगाए ।

‘यो सिजिनमा भएका गोल्डकपमध्ये ४ वटा उपाधि जितिसकेकोले यिनीहरुमा घमण्ड भरिएको छ । जितिहाल्छौं भन्ने छ । हामीले भनेको पनि यिनीहरुले मान्दैनन् । थ्रीस्टारसँगको खेलमा फाउल धेरै खेले । भोलीको खेलमा त्यस्तो हुँदैन ।– मगरले भने ।

दाउफिन्सका कप्तान एंगमा एंगोलले फाइनललाई फाइनल जस्तै रोचक बनाउन तत्पर रहने बताए । उनले फिजिकल पावर भएपनि उपाधि हात पार्न त्यति सहज नभएको बताए । हामी प्रतिष्पर्धात्मक खेल खेल्छौं उनले भने प्रतिष्पर्धीमाथि हाम्रो पूर्ण सम्मान रहनेछ । ‘फाइनल भनेको फाइनल हो । उपाधि जित्ने छौं । अर्को टिमलाई सम्मान गर्छु । उपाधि जित्न सजिलो छैन । अर्को टिम पनि बलियो छ ।–’ एंगोलले भनेका छन् ।

बाँस र फलामको प्यारापिटमा बसेर ३ हजार दर्शक खेलमा रमाएका थिए । प्रतियोगिता विजेताले ८ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले ७५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधाका विजेताले जनही २० हजार पाउनेछन् ।
यसअघि फागुन २९ गतेबाट सुरु गर्ने भनिएको प्रतियोगिता महिला साफ फुटबल प्रतियोगिता र माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताका कारण एक सातापछि धकेलिएको थियोे । चैत १६ गतेसम्म सञ्चालन हुने ‘मकवानपुर गोल्डकप’आम जिल्लाबासीको चिनारीको प्रतियोगिता भएको आयोजकको दाबी छ । करिब एक दशकअघि भएको शहीद स्मृति कप फुटबल प्रतियोगितालाई जिल्ला फुटबल संघले निरन्तरता दिने गरी यस वर्षदेखि ‘सहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल आयोजना गरिएको
हो ।