विप्लवको जिल्ला नेता समाउन प्रहरीको ‘हाइ अलर्ट’

तु खबर संवाददाता
२०७५ चैत्र १५, शुक्रबार १५:५५

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता खोज्न सर्च अभियान चलाएको छ । सादा तथा प्रहरी पोशाकमा जिल्लाभरि प्रहरी परिचालन र सर्च तीब्र पारिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीले ‘सूत्र’ हरुको प्रयोग गरी विप्लव नेता कार्यकर्ता खोजिरहेको बताएको छ । उसले केही दिन अघि विप्लवका केही सामान्य समर्थकलाई पक्राउ गरेको छ र ‘ठूला’ नेता समाउन उसले निकै प्रयत्न गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले सरकारको निर्देशन अनुसार प्रहरीले आफ्नो काम गरिरहेको बताएका छन् । प्रहरीले आफ्नो काम गरिरहेको छ र यो भन्दाबढी केही भन्न मिल्दैन, एसपी सिंहले तु खबरसँग भने ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला तथा केन्द्रीय तहका नेताको खोजी कार्यको लागि प्रहरीले दौडधूप बढाइको छ । प्रहरीले बिहानदेखि भोलिपल्ट बिहानसम्म पनि विप्लवका नेता कहाँ भेटिएला भनेर खोजिरहेको प्रहरी स्रोतको भनाई छ ।

विप्लव नेतृत्वको नेकपाका नेता समाउन केन्द्रीय सरकारबाटै दबाब झेलेको स्थानीय प्रशासनले जसरी भएपनि विप्लवको नेता वा कार्यकर्ता समाउनै पर्ने स्थिति बनेको छ ।
गृह मन्त्रालयले विप्लव नेतृत्वको नेकपालाई कुनै पनि सहयोग गरेको, वा समर्थन जनाएको वा अन्य जुनसुकै तरिकाबाट उसलाई मद्धत गरेमा कारवाही गरिने भएकोले त्यसो नगर्न अपिल समेत प्रकाशित गरिसकेको छ ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता बीरबहादुर घलान ज्वालासहितका नेता कार्यकर्ता समाउन प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ ।