उद्घाटन खेलमा आयोजक मकवानपुर–११ को विजयी सुरुवात

तु खबर संवाददाता
२०७५ चैत्र ७,बिहीबार २०:०५

हेटौंडा/ दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उद्घाटन खेलमा आयोजक मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुरले मच्छिन्द्र क्लबको चुनौती २–१ गोलअन्तरले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलमा अग्रता भने मच्छिन्द्रले लिएको थियो । मच्छिन्द्रको तर्फबाट मोमिया मोहम्मदले हेडमार्फत् गोलको खाता खोलेका थिए । उनले १६ औं मिनेटमा अजित गुरुङको क्रसमा हेड गोल गरेका थिए । खेलको ३० औं मिनेटमा काजिमले मकवानपुरको तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ६३ औं मिनेटमा काजिमले मकवानपुरका लागि निर्णायक गोल गरेका थिए । काजिम खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपियाँ हात पारे ।

खेलपश्चात् मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठ टिम सेटमा नियमित प्रशिक्षण नहुँदा भनेजस्तो खेल्न नसकेको बताए । उनले यस्तै शैलीमा खेले सेमिफाइनलमा जित्न गाह्रो हुने बताउँदै खेलाडीलाई सोही अनुसार प्रशिक्षण गराउने र रणनीति तयार गर्ने बताए ।

मच्छिन्द्रका प्रशिक्षक निशान श्रेष्ठले आफ्नो मुख्य डिफेन्डर घाइते भएपछि खेलमा लिएको अग्रता समेत जोगाउन नसकेको बताए । उनले अग्रता लिएपनि जित दर्ता गराउन नपाउँदा हेटौंडा यात्रा पहिलो खेलबाटै सकिएको बताए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच खेल हुनेछ । प्रतियोगिता उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका
थिए । प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिता फाइनल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन सरोहमा अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय सभासदस्य रामचन्द्र राई, ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस
का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।