वडाअध्यक्ष बानियाँद्वारा आश्रमलाई लुगा धुने मेसिन सहयोग
मकवानपुर २ चैत्र । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राजेश बानियाँले बृद्धाश्रमलाई लुगा धुने मेसिन सहयोग गरेका छन् । हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई बानियाँले करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनमा हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उपहार कार्यक्रम अन्तर्गत आफूलाई प्राप्त भएको लुगा धुने मेसिन आश्रमलाई सहयोग गरेका हुन् ।
आश्रमलाई मेसिन सहयोग गर्दै वडा अध्यक्ष बानियाँले हेटौंडाका विभिन्न आश्रमको तुलनामा ओम बृद्धाश्रममा तुलनात्मक रुपमा सहयोग कम भएको पाइएकोले आश्रमलाई सहयोग गरेको बताए । बानियाँले भने, अन्य आश्रममा भन्दा बढी बृद्धबृद्धा रहेको आश्रमलाई राज्यको तर्फबाट खासै सहयोग भएको रहेनछ त्यसकारण सानो सहयोग उपलब्ध गराएको हुँ ।’
वडा अध्यक्ष बानियाँले आफ्नो वडामा आर्थिक अवस्था न्यून भएकाहरुको स्वास्थ्य विमा गराएर देशभर चर्चा बटुलेका थिए । ‘मैले प्राप्त गरेको सेवासुविधा समेत मैले वडाको मात्र नभएर जिल्लाको विकासमा खर्च गरिरहेको छु ।’, बानियाँले भने ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष दीपक खड्का, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट तथा ओम बृद्धाश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेललगायतको सहभागी रहेको थियो ।
