कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको : प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७५ फाल्गुन २६, आईतवार १६:३८

काठमाडौं २६ फागुन । काठमाडौंमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन सुरु भएको छ । ‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी गरेका छन् ।

त्यसका लागि कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणमा जोड दिने प्रधानमन्त्री ओलीको योजना रहेको छ । प्रधानमन्त्री ओलीले मानव स्वास्थ्यका लागि स्वस्थकर खाद्य वस्तु उत्पादन गर्न पनि कृषकहरुलाई आह्वान समेत गरे ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनमा वृद्धि गर्न सरकारले वन भित्र पनि खेती गर्ने योजना तय गरेको बताए । त्यसका लागि कानुन निर्माणको कामलाई सरकारले अन्तिम चरणमा पु¥याएको पनि मन्त्री खनालले जानकारी दिए ।

३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सो सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेशिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिब ३ सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनबाट नेपालको कृषि क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक योजना, नीति र कार्यक्रम तय गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।