हेटौंडामा राप्रपाको आमसभा : राजमार्ग अवरुद्ध गरेर कार्यक्रम गर्दा अध्यक्ष थापाको ईमेज डाउन
मकवानपुर २१ फागुन । ठूला तथा साना सवारी साधन आवतजावत गर्ने हेटौंडाको व्यस्त सडक कब्जा गरेर राप्रपाले आज दिनभर आमसभा गर्यो । सर्वसाधारणले मूख्य सडक वा जेब्राक्रसिङ्मा १ मिनेटमात्रै पनि सवारी रोक्दा तुर्र सिट्टी बजाएर जरिवाना तिराउन आईपुग्ने ट्राफिक प्रहरी आज कार्यक्रमको संरक्षणमै देखियो ।
त्यसो त यसरी राजमार्ग कब्जा गरेर दिनभर आमसभा गर्नु नियम विपरित भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ् बताउँछन् । उनी भन्छन् ‘ मैंले कार्यक्रम यसरी गर्न नमिल्ने भनेपछि उहाँहरुले आधा घण्टाको लागि समय माग्नु भो, त्यसैले बल प्रयोग गरिन । तर उहाँहरुले बल मिच्याई गरेर कार्यक्रम गर्नुभो । ’ राप्रपाले आज प्रशासनलाई समेत झुक्यायो ।
राप्रपा अध्यक्ष कमल थापा आफैं उपस्थित भएको उक्त कार्यक्रम हेटौंडाको बुद्धचोक र सिमा चोकको विचमा गरिएको थियो । सिमाचोकमा ठूलो ट्रक रोकेर सडकभरी कुर्सी राखेर कार्यक्रम गरियो । राजमार्ग अवरोध भएपछि सवारी यात्रु तथा सर्वसाधारणलाले निकै सास्ती झेल्नुपर्यो । तर सडक अवरुद्ध गरेर गरिएको कार्यक्रममा राप्रपाका नेताहरुले भने जनतालाई शुख शान्तिको प्रत्याभूति गराउने पार्टी राप्रपामात्रै भएको भन्दै भाषण गरे ।
प्रशासनलाई बलमिच्याई गरेर गरिएको आमसभामा राप्रपा अध्यक्ष थापाले गणतन्त्र नेपालमा राजतन्त्र पुनस्थापना तथा हिन्दुराज्य स्थापनाको माग गर्दै निकैबेर भाषण गरे ।
हेटौंडामा कार्यक्रम गर्नको लागि ठूलो चौर अनि पर्याप्त स्थानहरु छन् । तर राप्रपाले सडकनै अवरुद्ध गरेर आमसभा गरेको भन्दै अधिकाँश सामाजिक संजाल प्रयोगकर्ताहरुले पार्टी र अध्यक्ष थापा विरुद्ध अनेक टिक्काटिप्पणी समेत गरेका छन् ।
अब्बल नेता थापाकै उपस्थिति रहेको कार्यक्रम प्रशासनको अनुमति विना हुनु अनि सर्वसाधारणलाई मर्कामा पार्नुले थापाकै ईमेज झन घटेको विश्लेषण पनि सामाजिक सञ्जालप्रयोगकर्ताहरुले गरेका छन् ।
केहीले राप्रपाले कार्यकर्ता जम्मा पार्न नसकेपछि सडकको विचमा रमिता देखाएको समेत विश्लेषण गरेका छन् । अनि केहीले खाना महोत्सवमा सो स्थानमा कार्यक्रम गर्न अनुमति नदिने तर राप्रपाले पाउने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
