राष्ट्रपतिसमक्ष आयुक्त डा.यादवद्वारा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

तु खबर संवाददाता
२०७५ फाल्गुन २१, मंगलवार १७:५९

काठमाडौं २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा डा.यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्तले आव २०७४/७५ मा आयोगबाट सम्पादित प्रमुख कार्यबारे जानकारी दिएका हुन् । आव २०७४/०७५ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको तथा निर्वाचनसँग सम्बन्धित ऐन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभएका अवस्थामा प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, राष्ट्रियसभा सदस्यको निर्वाचन एवं ७७ वटै जिल्ला समन्वय समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन व्यवस्थापनका लािग सामान्यतः १२० दिनको अवधि आवश्यक पर्ने भएतापनि ८२ दिनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति सम्पूर्ण सरोकार पक्षको सहयोगमा अहोरात्र खटिएर सबै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र निर्वाचनबाट ३८ हजार ५०० जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ । यसबीचमा तीन वटै तहका सरकार सञ्चालनमा आएको र संघीयताको पूर्ण कार्यान्वयन भई मुलुक समृद्धिको दिशामा अघि बढेको प्रतिवेदनमा समेटिएको छ ।