प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री अधिकारीप्रति शोक प्रस्ताव पारित

तु खबर संवाददाता
२०७५ फाल्गुन २१, मंगलवार १४:४१

काठमाडौं २१ फागुन । प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

पूर्वअर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा, २०६३ सालको प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य रहेका थिए । उनी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि रहेका थिए ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते शनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक फागुन २२ गते बुधबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।