बर्तमान सरकार पूरै असफल : श्रेष्ठ

तु खबर संवाददाता
२०७५ फाल्गुन २१, मंगलवार १४:१७

मकवानपुर २१ फागुन । मोहन बिक्रम बैद्य नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले मनहरीमा सोमबार कोणसभा गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट सुरु भएको मेची–महाकाली जागरण अभियान तथा जनपरिचालन कार्यक्रम अन्तर्गत मनहरी आइपुगेको केन्द्रीय नेतृत्वको टोलीले कोणसभा आयोजना गरेको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सीपी गजुरेलको उपस्थितमा कोणसभा भएको हो । कोणसभामा बोल्दै पार्टीका ३ नं प्रदेश इन्चार्ज पवनमान श्रेष्ठले बर्तमान सरकार पूरै असफल भएको दाबी गरे । उनले सरकारले निर्मला पन्त हत्याकाण्डको अपराधी समाउन नसकेको, शान्तिसुरक्षा दिन नसकेको, जनताको आवश्यकताहरु कुनै पनि पूरा गर्न नसकेको आरोप लगाए । उनले जनतालाई चुनावका बेला सुखी नेपाली, समृद्ध नेपाल नारा दिएर भोट लिए पनि नारा अनुसारको व्यवहार नभएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय नेतृत्व तथा जिल्ला नेतृत्वमा रहेका नेतागणहरुको सहभागिता रहेको थियो । क्रान्तिकारी पार्टीले पश्चिमबाट आउने टोली र पूर्वबाट आएको टोलीलाई एकीकृत गरी मंगलबार चितवनको भरतपुरमा बिशाल जनसभा गर्ने जनाएको छ । कार्यक्रममा मकवानपुरका नेतृत्वकर्ताहरु पूर्व सांसद समेत रहेका नेता दिलबहादुर घिसिङ, जिल्ला अध्यक्ष पारस, जिल्ला नेताहरु सागर उप्रेती, बादल लगायतले व्यवस्थापकीय भूमिका खेलेका थिए ।