राप्रपाले ताप्लेजुङबाट सुरू गर्याे स्वाभिमान मेची महाकाली यात्रा
काठमाडौं १६ फागुन । धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा आज सुरु गर्दैछ ।
पार्टी अध्यक्ष कमल थापाले बिहान १० बजे ताप्लेजुङको पाथीभरा मन्दिरबाट अभियानको सुरुवात गरेका हुन् । आजै दिउँसो ३ बजे पाँचथर सदरमुकाम फिदिममा आमसभा हुने पार्टी महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए । यात्राको शुभारम्भ अघि राप्रपाले पाथिभरा मन्दिरमा गएराती अनुष्ठानको आयोजना गरेको थियो ।
राजसंस्था सहितको सवै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले १५ दिने अभियान सुरु गर्न लागेको हो । आफुहरुले उठाएका माग सम्बोधनका लागि सरकारलाई २२ बुँदे माग अघि सारेको राप्रपाले अभियानका क्रममा ३६ जिल्लामा १ सय भन्दा बढी स्थानमा सभाको आयोजना गर्ने जनाएको छ ।
