संघीयता र गणतन्त्रले मुलुकको हित हुन दिएन : राप्रपा अध्यक्ष थापा
मकवानपुर १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको अभ्यासले मुलुकको हित हुन नदिएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो पार्टीले मुलुकको ‘अवस्था र व्यवस्था’ दुवैमा पुनर्विचार गर्न सरकारसँग माग गर्नु परेको बताउँदै संघीयता, धर्म निरपेक्ष र गणतन्त्रको अभ्यासले मुलुकको हित हुन नदिएको बताएका हुन् ।
उनले मुलुकमा माओवादी विद्रोह नयाँ रुपमा जन्मने खतरा आएको, विखण्डनको आवाज पहिलो पटक मुखरित हुन लागेको भन्दै त्यसबाट मुलुकलाई जोगाउन पनि सबै राजनीतिक दलहरुले वर्तमान राजनीतिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको दावी गरे ।
थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको पुनस्र्थापना गर्नुपर्ने, राजसंस्थासहितको प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गर्नुपर्नेलगायतका २२ बुँदे माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन ७ गते ज्ञापन पत्र बुझाएको थियो ।
अध्यक्ष थापाले सो २२ बुँदे माग फागुन महिना भित्र पूरा नगरे चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिए ।
