मेयर महतले थर्काउलान् भनेर उनको कार्यकक्षमा पस्न समेत सर्वसाधारण डराउँछन्’ : पराजुली, नेपाली काँग्रेस नगर सभापति
मकवानपुर १३ फागुन । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीले हेटौंडा उपमहानगरपालिकाले अहिले गरिरहेको गतिविधि सन्तोषजनक नरहेको बताएका छन् । अहिलेको उपमहानगरपालिकाको नेतृत्व नगरवासीको हितका लागि भन्दा पनि पार्टीप्रति अनावश्यक बफादार देखिएको उनको धारणा छ । ‘नेतृत्व पाएकोे २ बर्षसम्म पनि नगरवासीको समस्याको पहिचानसम्म गर्न नसक्नु अहिलेको नेतृत्वको ठूलो असफलता हो ।’ कसैको कुरा नसुन्नु, एकलौटी निर्णय गर्नु जस्ता कमजोरी नेतृत्व तहमा भएका कारण नगरवासीनै सन्तुष्ट छैनन् । तु खबरले उनीसंग गरेको कुराकानीमा उनले उपमहानगरपालिकाको नेतृत्वप्रति यस्तो धारणा सार्वजनिक गरे ।
प्रश्न : स्थानीय तहको निर्वाचनमा तपाँई हेटौंडा उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो थोरैमात्र मतले पराजित हुनुभयो । अहिलेको नेतृत्वले गरिरहेको काम र समग्र उपमहानगरपालिकाको गतिविधिबारे तपाँईको धारणा के छ ?
उत्तर : हेटौंडा उपमहानगरपालिकाले अहिले गरिरहेको गतिविधि सन्तोषजनक छैन । म आफु पनि उम्मेदवार भएकोले नगरवासीको समस्या मैंले राम्ररी बुझेको छु । ती कुनैपनि समस्याको संबोधन गर्न अहिलेको नेतृत्व सफल भएको छैन । अनि नगरवासीले अनुभुति गर्नेगरी कुनैपनि विकासका कामहरु भएका छैनन । केही भएका छन् ती पनि पहिलेनै सुरु भएका कामहरु छन् । अहिलेको नेतृत्वसंग जनताको हितहुने खालका कुनैपनि ठोष निर्णय गर्ने तागत छैन ।
केहीदिन अघि भएका निर्णयहरु केहीदिनपछि फेरीन्छन् । कुनै अध्ययन र कसैको सल्लाह बिनानै आफ्नै शैलीका काम गर्ने अहिलेको नेतृत्वको जुन तरिका छ, त्यो ठिक छैन । नेतृत्वतहका मानिसले मुडेशैलीमा गरेका निर्णयका कारण जनताले गिज्याउने मौका पाएका छन् । नगरपालिकाले गरेका केही गतिविधिहरु लाजैमर्दा पनि छन् ।
प्रश्न : बुँदागत रुपमा भनिदिनुस् , उपमहानगरपालिकाका राम्रा पक्ष के नराम्रा पक्ष के ?
उत्तर : उपमहानगरपालिकाका थोरै राम्रा पक्ष छन् । केही काम पनि भएका छन् ती कामहरु अहिलेको नेतृत्वको भिजनले भएका भने होईनन् । जे होस् काम भए राम्रो भो । तर असन्तुष्ट हुने कुराहरु धेरै छन् । अनावश्यक रुपमा कर्मचारी राखिएको छ । मेयरकै स्याहार गर्न कर्मचारी राखिएको छ । जनतासंग ३० प्रतिशत करबृद्धीगर्ने अनि अनावश्यक ठाँउमा खर्च गर्ने ? यो ठिक छैन । मेयर हरीबोल महतको मैँले व्यक्तिगत स्वभावको विषयमा कुरा गर्न धेरै चाहेको होईन तर नभनि नहुने कुराहरुपनि छन् जसका कारण म मात्रै होईन समग्र नगरवासी रुष्ट छन् ।
उहाँले एकलौटी निर्णय गर्नुहुन्छ । त्यो पनि अस्थिर, कुनै जानकारसंग केही जानकारी नलिकन गरेका धेरै निर्णयहरुमा उहाँ ब्याक पनि हुनुभएको छ । जस्तो बसपार्क क्षेत्रमा तौलपुल बनाउने भनेर खाडल खनेर पुजा गर्नुभो अनि भोलीपल्टै स्थानीयको गुनासो थेग्न नसकेपछि पुर्नुभो । उहाँले अहिले कान्तिराजपथको हाईवेमा फूल रोप्नुभकोछ । सहरमा फूल रोपेर सुन्दरता थप्नु राम्रो पक्ष हो तर हाईवेमा डिभाईडर बनाएर सडक साँघुरो पारेर नगरवासीको मनजित्न खोज्नुभको छ । त्यो जनताले बुझेका छन् । नगरवासीको समस्याको संबोधन गर्न उहाँलाई जिताएको अनि उहाँकै कोठामा पस्न नगरवासी डराएर जानुपर्ने अवस्था छ । नगरवासीलाई उहाँले गरेको व्यवहार त्यो राम्रो छैन । उहाँले साँसदहरुलाई सस्तोमा घडेरी दिने भन्नुभको थियो निर्णय पनि गर्नुभो । पछि ब्याक हुनुभो । ए बाबा स्थानीय तहको निर्वाचन भएको करिब २२ महिना बितिसक्यो । सबै स्रोतसाधन उहाँसंग छ । हामीले त सुझाव दिने त हो । खै के गर्नुभो त यत्तीका समयमा जनताले देखिनेकामहरु ? आखिर सरकारको बजेटलाई सहि तरिकाले जनताको आवश्यकता हेरेर विनियोजन गर्ने त हो । उहाँ विकास निर्माणको काममा लगानी गर्न आफ्नै गोलीबाट दिनुपर्ने जस्तै गर्नुहुन्छ, हप्काउनुहुन्छ । मैंले उहाँलाई नराम्रो भनेको होईन यो तरिका जुन छ त्यो सबैलाई मनपरेको छैन ।
प्रश्न : तपाईले सुुझाव दिने गर्नुभएको छैन ? सल्लाह सुझाव दिने तपाईको पनि दायित्व हो नी ?
उत्तर : मैंले उहाँलाई पटक–पटक सुझाव दिनेगरेको छु । भेट हुँदा होस् वा फोनमा पनि उहाँलाई यसरी काम गर्दा नगरवासीको वास्तविक समस्याको संबोधन हुन्छ भनेर भनेको छु । सुझाव सुन्नुपनि भएको छ । तर काम गर्दा उहाँ एकलौटी तरिकाले गर्नुहुन्छ । हेटौंडाको भैरवडाँडामा खानेपानीको समस्या छ । त्यसको व्यवस्थापन मिलाउँछु भनेर मैँले त चुनावमा घोषणापत्रमानै सार्वजनिक गरेको थिँए । अहिले पनि मेयरसाहेबलाई भन्नेगरेको छु । तर काम हुन्छ हुँदैन तपाई हामी हेर्दै जाउँ । साबिकका गाविसहरु अहिले उपमहानगरपालिका भएका छन् । तर त्यहाँको विकासको अवस्था भने विकट स्थानको जस्तो छ । सडक,खानेपानी जस्ता कुराको विकास गर्नपाए कम्तिमा उपमहानगरपालिका भएकोमा जनता हर्षीत हुनेथिए । अहिले हेटौंडाका वडा नम्बर ३,१९,१५,१६,१७,१८ लाई धेरै विकासगर्नुपर्ने देखिन्छ । तर २ बर्षसम्म पनि त्यहाँ जनताले महशुस गर्नेगरी काम त भएको छैन । अझ योजना पनि छैन ।
नेतृत्व तहले नगरवासीकै कुरा नसुनेपछि कसरी हुन्छ ? ‘तपाई उहाँको कोठामा जानुस् डराएर जाँनुपछर्, उहाँले हप्काउनुहोलाकी भनेर, जनताको काम गर्न जिताएको जनप्रतिनिधिकोमा जाँदा जनतानै डउाउनुपर्ने भएपछि के हुन्छ तपाई आफैं भन्नुस् । ’
प्रश्न : निर्वाचनमा तपाईका पनि त नगरवासीको हितकालागि योजना थिए ती योजनाअनुसार काम गर्नुपर्यो भनेर पहल गर्नुभा छैन ?
उत्तर : हो, निर्वाचनमा नगरवासीको हित हुनेखालका मेरा धेरै योजना थिए । मैँले घोषणापत्रमा पनि लेखेको थिँए । तर आफु पहुँचमा नभएपछि काम सोचेअनुरुप गर्न नसकिने रहेछ । तर अहिलेको नेतृत्वलाई पहल भने गरिरहेको छु । काम गर्ने नगर्ने उहाँहरुको कुरा हो, हामीले भन्न छोडेका भने छैनौं । तर मेयर साहेब कसैको कुरा सुन्नुहुन्न एकलौटी निर्णय गर्ने उहाँको स्वभावनै हो । मेरा योजनाहरुमा कर्रा करिडोर निर्माण गर्ने, नगरबस संचालन गर्ने, भैरवडाँडामा खानेपानीको व्यवस्था गर्ने, साविकका केही विकट गाविसहरुमा बाटोघाटोको विकास गर्ने, अनि, बन्द भएका उद्योगहरु संचालन गर्न पहल गर्ने त्यहाँ केहीलाई रोजगारी दिने, हेटौंडामा अस्तव्यस्त हुँदै गईरहेको सवारी पार्किङका विषयमा सरोकारवालाहरुसंग बसेर छलफल गरेर त्यसको समाधान खोज्ने, नगरका विद्यालयहरुमा प्राविधिक शिक्षाको व्यवस्था मिलाउन पहल गर्ने जस्ता थुप्रै योजना थिए । ती योजना मैंले अहिलेका मेयरलाई भनेको पनि छु ।
पंश्न ः काँग्रेसको नगरसभापति हुनुहुन्छ नगरवासी र जिल्लावासीकालागि के–के काम गरिरहनुभएको छ ?
उत्तर ः हामी जनताको माँझ पुग्ने काम गरिरहेका छों । जनताको समस्या धेरथोर आफैंले भएपनि समाधान गर्ने काम गरिरहेका छौं । सामाजिक काममा हामी व्यस्त छौं उदाहरणको लागि नेपाली काँग्रेस मकवानपुरका नेता ईन्द्रबहादुर बाँनियाको नेतृत्वमा बिकट गाँउमा एम्बुलेन्स वितरण गर्ने मकवानपुरका केही विकट क्षेत्रका बालबालिकालाई जाडोका कपडाहरु वितरण गर्ने, जस्ता काम भए । योजना अझै धेरै छन् । पार्टी विस्तारको काम पनि भईरहेको छ । जनताको विस्वास जित्न सफल भएका छौं । र अब जनताले आफुहरुलाई फेरी अवसर दिए काम गरिरहेका पनि छौं । अझै गरेर देखाईदिन्छौं ।
अन्तमा नगरवासीलाई के भन्नुहुन्छ ?
उत्तर : नगरवासीलाई धेरै धेरै धन्यवाद । मलाई त्यसबेला पनि धेरै मत दिनुभयो विस्वास गर्नुभयो । प्राविधिक कारणले म पराजित भएपनि तपाईहरुको म प्रतिको विस्वास र सम्मानलाई पराजित हुँन दिन्न । काम आफुले सकेको गर्दैजानेछु । निर्धक्क भएर भन्नुस तपाईहरुको समस्यामा उभिन तयार छु । मेयर साहेबलाई पनि राम्रो काम गर्नुस् हाम्रो साथ र सहयोग रहनेछ भन्न चाहान्छु । फेरीपनि जनताको माझ आउनुछ, सकेको राम्रो गर्छु गरिरहेको पनि छु ।
