भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न् : प्रमुख आयुक्त घिमिरे

तु खबर संवाददाता
२०७५ फाल्गुन १२, आईतवार १६:२२

काठमााडौं १२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न् भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताएका छन् । संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको आईतबार बसेको बैठकमा प्रमुख आयुक्त घिमिरेले यस्तो बताएका हुन् ।

समिति सदस्यहरुले आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगका कामकारवाही बारे प्रश्न उठाएपछि प्रमुख आयुक्त घिमिरेले नाम नलिईकनै पछिल्लो घटनाबारे आयोगले छानविन सुरु गरिसकेको जानकारी दिए । उनले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरु गरिसकेकाले छिटै त्यसबारेका सत्य तथ्य सार्वजनिक गरिने विश्वास दिलाए ।

आयोग भित्रका क्रियाकलापलाई निगरानी गर्ने सन्र्दभमा प्रमुख आयुक्तको प्रत्यक्ष नियन्त्रणमा १५ जनाको ‘इन्टलीजेन्स यूनिट’ स्थापना भएको भन्दै उनले केही आयोगका कर्मचारीहरु सो यूनिटको अनुसन्धानभित्र रहेको जानकारी दिए । प्रमुख आयुक्त घिमिरेले वाईड वडी विमान खरिद प्रकरणबारे सहसचिवको संयोजकत्वको समितिले छानविन गरि वयान लिने काम गरिरहेको जानकारी दिए ।

त्यसैगरी सार्वजनिक जनसरोकारका संस्थामा हुने गरेका आर्थिक अनियमितता नियन्त्रणका लागि आयोगका अधिकारी नै सेवाग्राही बनेर जाने योजना अनुसार कार्यविधि तयार भइसकेको भन्दै उनले छिटै नै सो अभियान सुरु गरिने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐन संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा रहेको भन्दै उनले त्यसलाई यथासक्य छिटो पूर्णता दिन सरकार र समितिको ध्यानाकर्षण पनि गराए ।

समिति सदस्यहरुले आयोगका पदाधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगको काम कारवाहीबारे प्रश्न उठाएका थिए । त्यसैगरी वाईडवडी विमान खरिदमा भएको भ्रष्टाचार, जनसरोकारका सार्वजनिक संस्थानमा हुने आर्थिक अनियमितता लगायतमा आयोगको कामकारवाही बारे जिज्ञासा राखेका थिए ।

आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको समाचार सार्वजनिक भएपछि समितिले प्रमुख आयुक्तलाई बैठकमा बोलाएको हो ।

रातोपाटीबाट