एनसेल बम काण्डमा नेपाल कम्युनिष्ट पार्टीको हात : गृहमन्त्री थापा
काठमाडौं १२ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जानकारी दिएका छन् ।
आइतबार राज्य व्यवस्था समितिको बैठकमा मन्त्री थापाले एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै सो कुरा बताएका हुन् ।
विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तक्तवले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’
गृहमन्त्री थापाले १ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एनसेलको टावरमाथि आक्रमण भएको बताए । ‘२०–२१ जिल्लामा टावरमाथि आक्रमण भएका छन्,’ उनले भने ।
नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।
