महायज्ञको हिसाब प्रकरण : श्रेष्ठ, मोक्तान, गिरी र पौडेल सबै अनभिज्ञ

महायज्ञको हिसाब राखिएको पोको अझै भेटिएन
तु खबर संवाददाता
२०७५ फाल्गुन ५,आईतवार १८:२३

मकवानपुर ५ फागुन । हेटौंडा अस्पताल प्रशासनसंग महायज्ञ लगाएको हिसाब किताब छैन । अस्पतालका अध्यक्ष तथा लेखा शाखाले दिएको जानकारी अनुसार, त्यतिबेलाको हिसाब किताबको पोको कहाँ छ, उनीहरुलाईनै जानकारी छैन ।

अस्पतालले केही बर्षअघि सुधार गर्न आर्थिक संकलन गर्ने उद्धेश्यले महायज्ञ लगाएको थियो । महायज्ञमा कति रकम संकलन भयो र कति खर्च भयो त्यो कहाँ कहाँ खर्च भयो र अब को कोसँग त्यतिबेलाको कबोल रकम वा सम्पत्ति उठाउन बाँकी छ भन्ने विवरण माग्दा अस्पताल अध्यक्ष प्रकाश पौडेल र लेखा शाखाका प्रमुख मधु ढुङ्गानाले उपलब्ध
गराएनन् । बरु त्यतिबेलाको हिसाब किताब बाधेर राखिएको पोको नै नभएको जवाफ दिएका छन् ।

महायज्ञ पश्चात ५ करोड र केही जग्गा समेत अस्पताल विकास समितिलाई प्राप्त भएको भन्दै त्यतिबेला अस्पतालले हरहिसाब सार्वजनिक गरेको थियो । तर सो हरहिसाबमा गडबडी भएको भन्दै अक्तियारमा उजुरी समेत परेको थियो । उजुरी के कस्तो अवस्थामा छ त्यो पनि अन्यौल छ भने त्यतिबेलाको हिसाब कहाँ राखिएको छ त्यो कसैलाइृ पनि जानकारी छैन ।

महायज्ञमा दाताहरुले कबुल गरेको करिब २ करोड रकम संकलन गर्न हालसम्म सकेको छैन । त्यसो त दानमा प्राप्त भएको जग्गा समेत आवश्यक प्रक्रिया मिलाएर अस्पतालको नाममा ल्याउन सकेको छैन । उनीसंग अहिले त्यसबेलाको हरहिसाबको स्मरण छैन । अनि प्रशासनसंग हरहिसाबको पोको छैन । तु खबरको प्रश्नमा लेखाका मधु ढुङगानाले आफुलाई केहि जानकारी नभएको बताए ।

कहाँ गयो हिसाब राखिएको पोको ?

प्रशासनसंग हरहिसाबको पोको छैन । तु खबरले १ महिनादेखि सो विवरण माग गरेको थियो तर अस्पताल विकास समितिले पोको नभेटिएको बताउँदै आएको छ ।

तत्कालिन अस्पताल विकास समितिका अध्यक्ष राजिव सुवेदीले महायज्ञ लगाएका थिए । त्यसपछि पौडेल अध्यक्ष भए । तु खबरसंग उनले आफु अध्यक्ष भएपछि सो पोकोको हरहिसाब सार्वजनिक गरेको बताएका छन् तर उनले सार्वजनिक गरेको हिसाबमा गडबडि भएको भन्दै अक्तियारमा उजुरी पर्यो अनि, उनले बनाएको भवन २५ मिटर सडकभित्र परेको भन्दै अर्को उजुरी समेत परेको थियो ।

विवाद निकै थपिएपछि अस्पताल विकास समितिका सदस्यहरु सबै पन्छिए । अस्पताल विकास समितिको नेतृत्व प्रभावकारी हुन सकेन । त्यसपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले मकवानपुर उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष भुवनलाल श्रेष्ठलाई कार्यबाहक रुपमा अस्पताल सुधार्ने जिम्मा दिए ।

उनले कर्मचारी प्रशासनसंग त्यो पोको खोज्न लगाएको र सुरक्षित राख्न आग्रग गरेको बताएका छन् । तु खबरले उनलाई त्यतिबेलाको हिसाब किताबको बारेमा सोधेको थियो ।

उनका अनुसार, सो पोको सुनिल मोक्तान अध्यक्ष भएपछि पदभार ग्रहण कार्यक्रमकै दिन हस्तान्तरण गरिएको बताए । मैले सार्बजनिक कार्यक्रम भएकै दिन सबैको अगाडि सो पोको अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको थिए, त्यहाँ अहिलेका अध्यक्ष पौडेल, उतिबेलाका अध्यक्ष मोक्तानसमेत थिए, उनले तु खबरसँग भने ।

अब त्यो पोको कहाँ राखिएको छ त्यसबारे प्रकाशजीलाई नै थाहा होला– श्रेष्ठले भने ।

त्यसपछि अध्यक्षमा सुनिल मोक्तान नियुक्त भए । मोक्तानले तु खबरसंग महायज्ञबारे निकै विवाद भएकोले त्यसबारे हात हाल्न आफुले नचाहेको र कर्मचारी प्रशासनसंग सो पोको नमागेको बताएका छन् । उनले सो पोको कर्मचारीसंगै भएको बताएका छन् ।

त्यसपछि अस्पताल विकास समितिको अध्यक्ष रमेश गिरी नियुक्त भए उनी नियुक्त भएपछि पनि उनले महायज्ञ र सो पोको बारे कुनै चासो राखेनन् । उनले आफु अस्पतालका अन्यकामहरुमै व्यस्त भएकोले मैले महायज्ञको कुनै बिषयमा चासो राखिन्, तु खबरसँगको कुराकानीमा गिरीले भने ।

अहिले फेरी अस्पताल विकास समितिको अध्यक्ष प्रकाश पौडेलनै नियुक्त भएका छन् तर उनीसंग हरहिसाबको पोको
छैन । त्यसो भए को संग छ हरहिसाबको पोको ?  यस विषयमा जिज्ञासा उठ्नु स्वभाविक छ ।

 मोक्तानजीले पदभार ग्रहणकै दिन मैले बुझाएको हो : भुवनलाल श्रेष्ठ

मैले महायज्ञको हिसाब किताब राखिएको पोको सुनिल मोक्तान अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भई पदभार ग्रहण गर्ने सार्वजनिक कार्यक्रमकै दिनमा बुझाइदिएको हुँ ।

महायज्ञको हिसाब किताब पारदर्शी छैन भनी विवाद चुलिएको थियो । २५ मिटरभित्रै पारेर भवन निर्माण भएका थिए । यि सबै विवाद सतहमा थियो ।

मैले केही समय अस्पताल सुधार्न प्रयास गरे र सरकारले अर्को व्यक्तिलाई त्यसको जिम्मेवारी दिइसकेपछि मैले सबै हस्तान्तरण गरिदिएको हुँ । सो हस्तान्तरण कार्यक्रममा अहिलेका अध्यक्ष पौडेल, तत्कालिन अध्यक्ष मोक्तानलगायतका सबै जना त्यहि थिए ।