महायज्ञको हिसाब राखिएको पोको हेटौंडा अस्पतालबाट गायब (अध्यक्षज्यू कहाँ छ : थाहा छैन – लेखा प्रमुखज्यू कहाँ छ : खै, थाहा भएन)

तु खबर संवाददाता
२०७५ फाल्गुन ४, शनिबार १३:००

मकवानपुर ४ फागुन । सरकारी अस्पताल हेटौंडा अस्पतालको प्रशासनमा निकै बेथिति बढेको छ । अस्पलाल विकास समितिका अध्यक्षहरुको ताल पनि उस्तै छ । अस्पताल प्रशासनसंग अस्पतालका केही महत्वपूर्ण हरहिसाब छैन ।

हेटौंडा अस्पतालले २ं०६६ मा अस्पतालको स्तरउन्नती गर्ने र सेवासुविधामा विस्तार गर्ने भन्दै महाययज्ञ लगाएको थियो । जसमा केही दाताहरुले बोलेको पैसा दिएका छन् भने अधिकाँशले आफुले कबुल गरेको पैसा तिरेका छैनन् । अस्पताल श्रोतका अनुसार करिब २ करोडको हाराहारीमा दाताहरुले कबुल गरेको पैसा उठ्न बाँकी छ ।

तर अस्पतालसंग अहिले न हिसाब छ न सो पैसा उठाउने योजनानै । सुरक्षित गरी राख्नुपर्ने हिसाब किताब पनि छैन अस्पतालसँग । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल हिसाब किताबको पोको नभेटिएको बताउँछन् । अस्पतालको लेखा शाखासँग पनि त्यसबारे केही पनि छैन ।

लेखाका मधु ढुङ्गाना पनि त्यतिबेलाको हिसाब किताब आफूलाई कसैले पनि नबुझाएको र सो सम्बन्धमा कागजपत्र कहाँ छन् भन्ने बारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।

तत्कालिन राजिव सुवेदी अस्पताल विकास समितिको अध्यक्ष हुँदा महायज्ञ लगाईएको थियो । सोहि समयमा हालका अध्यक्ष प्रकाश पौडेल पनि सचिवालयभित्रै थिए ।

स्वभाविक रुपमा उनलाई पनि महायज्ञबारे जानकारी हुनैपर्ने हो । अस्पताल विकास समितिले करिब ५ करोड पैसा दाताहरुले कबुल गरेको र केही पैसा खर्च भएको अनि केही उठ्न बाँकी रहेको भन्दै हिसाव सार्वजनिक गरेको थियो ।

तर बाँकी पैसा कहिले उठाउने, को को व्यक्ति वा संस्थासित उठाउने भन्ने विषयमा अहिले अस्पताल विकास समितिसंग कुनै योजना छैन ।

तु खबरले सो हरहिसाव के कसो छ भनेर महिनौँदेखि विवरण मागेको भएपनि अहिलेसम्म विवरण नभेटिएको भन्दै दिइएको छैन ।

सो सम्बन्धमा जिज्ञासा राख्दा प्रशासनका कर्मचारीको पनि ओठ सुक्यो । अनि अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल पनि मौन भए ।

त्यतिबेला उनले महायज्ञको पैसाले सडकसिमाभित्र पर्नेगरी भवन बनाईदिए उतिबेलै २५ मिटरभित्र भवन नबनाउन आएको चौतर्फी सुझावलाई पौडेलले मनन गरेनन् ।

जसको फलस्वरुप केही महिनाभित्रै सडक कार्यालयले सो भवन भत्काई दियो । अस्पताल राम्रो बनाउन हेटौंडावासीले सप्ताहमार्फत् गरेको लगानी चुर्लुम्म हुन डुब्यो ।

४५ लाख रुपैयाँ लगानी गरी बनाइएको भवन सडक सिमाभित्र परेपछि पैसा बालुवामा पानी सरह भयो । महायज्ञ लाउँदाका बखतको हिसाबकिताब पारदर्शी छैनन् । असल नेता भनी चिनिएका पौडेल अस्पतालमा अध्यक्ष भएपछि त्यो छवीलाई बचाइराख्न सकेका छैनन् ।

उनले अहिले पूर्व अध्यक्ष र कर्मचारीले सो हिसाब दिनुपर्ने बताउँदै आएका छन् ।
अस्पतालको व्यवस्थापन गर्नका लागि सो रकमले ठूलो मद्धत गर्न सक्ने भन्दै त्यतिबेलाको रकम उठाउन उनीमाथि दबाब छ । अस्पतालको बिरामी भर्ना गर्ने वार्ड लाथालिङ छ, इमेरजेन्सी त्यस्तै छ ।

बिरामी भर्ना गर्ने वार्डमा सद्धे मानिस जाँदा पनि भोमिट हुने अवस्था छ, शौचालय को अवस्गा पनि उस्तै छ । विविध सेवाहरु संचालनमा ल्याउन सकिएको छैन । दाताहरुले कबुल गरेको रकम संकलन गर्न सके यी लगाएत थुप्रै सेवा विस्तारमा मद्धत हुने जानकारहरु बताउँछन् ।

तु खबरले अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल मोक्तानलाई तपाईको कार्यकालमा सो पैसा संकलन गर्ने प्रयास गर्नुभयो भनेर प्रश्न गर्दा उनले आफुलाई कुनै हरहिसाब थाहा नभएकोले आफुले हात नहालेको बताए ।

उनले अस्पतालका अन्य कामहरुमा आफु व्यस्त भएकोले महायज्ञको रकम संकलनमा आफुले चासो नदेखाएको
बताए । त्यसैगरी पूर्व अध्यक्ष रमेश गिरिले पनि आफुलाई केही थाहा नभएको बताए । उनले प्रकाश पौडेल त्यसबेला पनि सक्रिए रहेकोले उनैलाई त्यो थाहा हुने बताए ।

त्यतिबेला केही जग्गाहरु पनि दान स्वरुप दाताहरुले कबुल गरेका छन् । तर त्यो आवश्यक प्रक्रिया मिलाएर अस्पतालको नाममा ल्याउँन बाँकी छ ।

केही स्मरणमा रहेका दाताहरुसंग अस्पतालले पैसा माग्दा ‘रोडमा भवन बनाएर भत्काउन पैसा दिने रु’ भन्दै रिसाएर प्रतिक्रिया दिने गरेको अस्पताल स्रोतको जानकारी छ ।

दान कबुल गरेर हात्तीमा चढेर बजार परिक्रमा गरेका दाताहरु अहिले पैसा दिने सोचमा छैनन् । अनि अस्पताल सो विषयलाई बाहिर ल्याउने पक्षमा छैन । तु खबरको प्रश्नमा अस्पतालका प्रशासनका कर्मचारी फाईल नभेटिएको भनेर लेख्दिन आग्रह गर्छन् ।

लाजमर्दो अवस्था छ, अस्पताल विकास समितिका पदाधिकारी, लेखा तथा प्रशासनका कर्मचारीले नै अस्पतालको हिसाब किताब गायब बनाएको चर्चा पनि छ । वास्तविकता बाहिर आउन सके अस्पताललाई दान दिन्छु भनेर हात्ती चढ्ने अनि अहिले दिनुपर्ने नदिई चुपचाप बस्नेहरु ठिक ठाउँमा आउने थिए कि ?