सडक दुर्घटना न्यूनीकरणसम्बन्धी प्रस्तावमाथि छलफल
काठमाडौँ, २९ माघ । प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले दर्ता गराएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस्’ भन्ने जरुरी महत्वको प्रस्तावमाथि बैठकमा छलफल भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रास्तावका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा परिषद्’ गठन हुनुपर्ने सांसदको सुझाव सकारात्मक भएको बताए ।
वर्तमान सरकार गठन हुनुअघि बोलपत्र भइसकेको सडक सोहीअनुसार निर्माण भइरहेको र नयाँ बन्ने सडकमा फुटपाथ अनिवार्य तथा मापदण्ड पालनामा कडाइ गरिएको बताउँदै उनले पूर्वपश्चिम महेन्द्र राजमार्गलाई चार लेनमा बनाउने गरी काम शुरु भएको जानकारी दिए ।
