शृङ्खला विजेता नेपाली टोली आज स्वदेश आउँदै
काठमाडौँ, २१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ ।
दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न ३ः०० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ ।
क्रकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ ।
यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल नफर्कने भएका छन् । लामिछाने बिग बास लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ)बाट अष्ट्रेलिया जाने भएका हुन् ।
उनी सो लिगबीचमै छोडेर बिपिएलका लागि बङ्गलादेश गएका थिए । बङ्गलादेशबाट राष्ट्रिय टोलीबाट यूएइमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन् ।
