वर्षाका कारण ढोरपाटन क्लबको भलिबल खेल रद्द

तु खबर संवाददाता
२०७५ माघ ९, बुधबार १४:३८
file-photo

काठमाडौँ, ९ माघ । उपत्यकामा वर्षाका कारण ढोरपाटन महिला भलिबल प्रतियोगिता अन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोट्र्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ र चितवन टाइगर्सबीच खेल हुने कार्यक्रम थियो ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार, दोस्रो हुने टोलीले रु दुई लाख, तेस्रो हुने टोलीले रु १ लाख, चौथो हुने टोलीले रु ६० हजार, पाँचौ हुने टोलीले रु ४० हजार, छैठौँ हुने टोलीले रु ३० हजार र सातौँ हुने टोलीले रु २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु ६÷६ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।