काँग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

तु खबर संवाददाता
२०७५ माघ ५, शनिबार १७:१५

चितवन, ५ माघ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताए ।

नेपाल शिक्षक संघ भरतपुर महानगर कार्यसमितिको प्रथम सभालाई आज सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताएका हुन् ।

अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उनले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गरे । सहमहामन्त्री डा. महतले काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रहसमेत गरे ।