ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी

तु खबर संवाददाता
२०७५ पुष ११, बुधबार १५:१८
file-photo

काठमाडौँ, ११ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको ११ औं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको ४६ औँ मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५४ औँ मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो । त्यसैगरी खेलको ६१ औँ र ८० औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल थपे ।

त्यस्तै पराजित ब्रिगेड व्वाइजका लागि वर्तमान राईले खेलको ८७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । खेलमा म्यान अफ द म्याच हिमालयन शेर्पाका कप्तान मानबाहदुर तामाङ घोािषत भए ।

जितसँगै १७ अङ्क जोडेको हिमालयन शेर्पा तालिकाको पांचौँ स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड व्वाइज छ अङ्कसहित बाह्राँै स्थानमा छ ।