अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन
काठमाडौं १० पौष । भारतको मुम्बइमा ७ र ८ पुसमा भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ ।
प्रतियोगितामा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बनेको हो ।
स्वर्ण जित्ने क्रममा सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरी दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यू–१४ काता दुवैमा स्वर्ण हात पारे । यस्तै दुई स्वर्ण हात पार्नेमा अस्मिता राई, रश्मी पाण्डे, विमला नेपाली र हृषभराज गिरी रहेका छन् ।
अश्मिताले ५५ केजी कुमिते र यु–१५, रश्मीले ४५ केजी कुमिते र यू–१६ काता, विमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यू–१६, ५५ केजी कुमिते र कातामा स्वर्ण हात पारे ।
सूर्यविक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे । सूर्यले यू–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए ।
राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पाए । सिनियरतर्फ अङ्कित गुरुङले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्न सफल भए ।
