बाढीपीडितलाई राहत दिन प्रतिबद्ध छु : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७५ पुष ९, सोमबार १८:४४

काठमाडौँ, ९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उनले लामो समयसम्म पनि बाढीपीडितले राहत नपाएकामा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सांसद् गणेशसिंह ठगुन्नाले विगतमा सरकारले राहत दिने निर्णय गरे पनि अझैसम्म पीडितले राहत नपाएको बताए । उनले भने, “विगतमा खिलराज रेग्मीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्ले राहत दिने निर्णय गरेको थियो, तर अहिलेसम्म एक जना पीडितले पनि राहत पाएको छैन, निर्णय गर्ने बेला विभिन्न शर्त राखिएकाले वर्तमान सरकारले ती शर्त हटाएर पीडितलाई राहत दिनुपर्छ ।”

उनले प्रधानमन्त्रीसँग महाकाली नदीमा विसं २०७० असारमा आएको बाढीबाट पीडितलाई उपलब्ध राहत न्यून रहेकाले त्यसलाई बढाइदिनसमेत आग्रह गरे ।–रासस