एकजुट भएर अघि बढनुपर्ने : पूर्व राष्ट्रपति
धनुषा, ८ पौष । पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताए ।
जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले देश सङ्घीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै मजबुतीका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिले पनि यसबाट शिक्षा लिनुपर्ने बताए ।
समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकास पर्यटकले मात्रै हुने भएकाले यसमा जोड दिनुपर्ने बताए । प्रदेश राजधानी जनकपुरमा ‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूलनाराका साथ शनिबारदेखि नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा शुरु भएको छ ।
अबेर राति सम्पन्न उद्घाटन सत्र उक्त महाधिवेशनमा ७७ जिल्लाका जेसिज सहभागी रहेका छन् । अधिवेशन पुस १० सम्म चल्ने छ । –रासस
