करको दायरा वृद्धि गरिएको छ : अर्थमन्त्री
राँझा, ७ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताए ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे ।
“करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो ।”, अर्थमन्त्री खतिवडाले भने, “भौगोलिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।”
उनले करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको बताए । –रासस
