काँग्रेस महासमितिको बैठक आददेखि शुरु
काठमाडौँ, २८ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ ।
महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि नाम दर्ता एवं स्वागत शुरु भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुने छन् ।
