विवादै विवादको बिच यसरी गुम्यो मन्त्री स्थापितको पद
–चन्द्र घलान
हेटौँडा, १६ कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितको मन्त्री पद शुक्रबारबाट सकिएको छ । उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका हुन् ।
प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकमा मुख्यमन्त्रीलाई अपशब्द बोलेर चर्काचर्की नै गरेपछि उनको पद खुस्किएको हो । बुधबार भएको बैठकमा स्थापितले मन्त्रालयमा पनि नबस्ने र कुनै काम पनि नगरेको विषयमा छलफल भएको थियो । सो बारेमा छलफलका क्रममा स्थापितले बैठकमा चर्काचर्की नै गरेका थिए । त्यसो त मन्त्री स्थापितको यो पहिलो विवाद होईन तर मन्त्री परिषद बैठकमा टेबल नै ठोकेपछि भने विवादले उग्र रुप लिएको हो । मि टु अभियानदेखि आफ्नै पार्टी र प्रदेश सरकारलाई सहयोग नगरेको लगायतका विषयमा मुछिएका स्थापित सधैँ विवादमा तानिएका मन्त्री हुन् । उनका विवादहरुलाई यसरी स्मरण गरौँ–
‘हेटौँडाको सडक १०० दिनमा फराकिलो पार्छु’
केही वर्ष पहिले काठमाडौँमा विभिन्न बाधाका बावजुद पनि २५ मिटर सडक चौडा बनाउन डोजर चलाएर काठमाडौँ हल्लाएका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले ३ महिनामा (१०० दिनमा) हेटौँडामा २५ मिटर सडक विस्तार गर्छु भन्ने अभिव्यक्ति दिएपछि हेटौँडामा भूकम्प गएको जस्तै भएको थियो ।
२५ मिटर सडक विस्तारको क्रम रोकिए पछि सामान बोरामा हालेर लाखापाखा लागेका व्यापारीहरु समेत पूनः पुरानै सडक छेउछाउका सटरमा फर्किएको अवस्थामा एकाएक मन्त्री स्थापितको गर्जन सुनेपछि उनीहरु तनावमा आएका थिए । तर स्थापितको यो कुरा गफमै सिमित भइसकेको अवस्था छ ।
गत वर्षको माघ २९ गते सोमबार प्रदेश नम्बर ३ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका भौतिक पूर्वाधार विकास मन्त्री स्थापितले हेटौँडा बजार क्षेत्रमा विभिन्न समयमा विभिन्न कारणले रोकिएको २५ मिटर सडक विस्तार योजनालाई सुचारु गर्ने बताएका थिए । स्थापितले ३ नम्बर प्रदेशभित्रका १३ वटै जिल्लामा सडक विस्तार गर्ने बताउँदै राजमार्ग साँघुरो भएको र सडक विस्तार नहुँदा सहरी विकासलाई आँच पुग्ने कारण देखाउँदै सडक विस्तार कुनै पनि हालतमा नरोकिने दाबी गरेका थिए । हेटौँडाको २५ मिटर सडक विस्तार काण्डका बारेमा पहिलेदेखि नै जानकार रहेको बताउँदै मन्त्री स्थापितले सय दिन भित्रमा २५ मिटर सडक विस्तार हुने दाबी गरेका थिए । क्षतिपुर्ति दिनुपर्ने अवस्थामा तत्काल उपलब्ध गराउने बचन दिँदै मुद्धा दायर भएको अवस्थामा पनि जसरी भए नि हेटौँडामा २५ मिटर सडक विस्तार हुने उनले अडान राखेका थिए ।
‘हेटौँडा प्रदेश राजधानी हुँदै हुँदैन’
बर्खास्त भएका मन्त्री स्थापितले विभिन्न कार्यक्रम तथा प्रदेशसभामा समेत बारम्बार हेटौँडामा प्रदेश ३ को राजधानी नहुने दाबी गर्दै आएका थिए । हेटौँडाबाट प्रदेश राजधानी कुनैपनि हालतमा अर्को स्थानमा तोक्नुपर्छ भन्ने कुराले उनी विवादमा तानिएका थिए । स्थापितकै चलखेलले हेटौँडाबाट प्रदेश राजधानी खोसिने खतरा बढेको थियो र त्यो अहिले पनि यथावत नै छ ।
प्रदेशको अस्थायी राजधानी हेटौँडा तोकिएको बेलै विरोधमा उत्रिएका मन्त्री स्थापितलाई एमालेकै अर्का नेता राजेन्द्रप्रसाद पाण्डेले साथ दिएका थिए भन्ने हल्ला चलेको थियो । साथै धेरे जसो नेताहरु पनि हेटौँडा पायक स्थान नभएको भन्दै कुर्लिने गरेका थिए जसले स्थापितलाई थप हौस्याएका थिए । मुख्यमन्त्री पौडेलले कारवाही गर्ने खालका समाचार तु खबरमा प्रकाशित भएपछि केही समयसम्म चुप बसेका मन्त्री स्थापितले मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा फागुन १६ गते हेटौडा कसैलाई पायक नपर्ने र पायक नपर्ने ठाउँमा राजधानी राख्न नुहुने बताएका थिए । आफुले प्रदेश ३ को राजधानी जसरी भएपनि सार्ने र काठमाडौँ उपत्यका आसपास सार्ने अठोट गरिसकेको दाबी गरेका थिए ।
स्थापितले यति धेरै गफ दिए कि प्रदेश नम्बर ३ का जनतालाई उनले भनेका कुरा पत्याउनै मुस्किल हुन थालेको थियो ।
‘हेटौँडामा लोखर्के गनेर बसेको छु’
मन्त्रीपरिषद्को विस्तारका समयमा दुई जनामात्र मन्त्रीले सपथ खाएका बेला एक जना यिनै स्थापित थिए, जसले सपथ ग्रहणपछि सय दिनभित्र हेटौंडा मकवानपुरका सबै सडक फराकिलो पार्ने घोषणा गरेका थिए । त्यसपछि प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र कुनै पनि हालतमा सार्ने भाषण उनले ठोके । मुख्यमन्त्री डोरमणि पौडेलले जथाभावी बोल्दै नहिड्न सम्झाएपछि उनी केही समय चुप बसे । संचारमाध्यमबाट टाढा बसेका स्थापितले त्यसपछि हेटौंडामा लोखर्के गनिरहेको बताएर व्यङ्ग्य हाने । त्यसको सामाजिक संजालमा चर्को आलोचना समेत उनले खेपे र थप विवादमा आए । त्यतिमात्र होईन राजधानी काठमाडौँमा भएको एक कार्यक्रममा उनले प्रदेश नम्बर ३ लाई धुलो मुक्त बनाउने घोषणा समेत गरिदिए । अमेरिकी कम्पनीसँग सम्झौता गरी यसो गर्ने भनेर उनले घोषणा गरेपछि वर्षौदेखि धुलो खान बाध्य जनता आसावादी समेत भए तर उनको यो कुरा पनि विवादित मात्र बन्यो, गफ मात्र बन्यो । त्यतिमात्र होईन उनले हेटौंडामै आयोजित अर्को एक कार्यक्रममा बोल्दै मन्त्री स्थापितले सिन्धुलीको मरिन भन्ने ठाउँमा स्वप्न शहर बनाउने परिकल्पना समेत सार्वजनिक गरे ।
‘मि टु अभियान : यौन दुव्र्यवहारको समेत आरोप’
भारतबाट सुरु भएको यौन दुव्र्यवहार विरुद्धको अभियान ‘मि टु’ मा समेत तानिएका विवादित स्थापितलाई काठमाडौँ महानगरपालिकामा मेयर हुँदाको अवस्थामा २ जनालाई यौन दुव्र्यवहार गरेको आरोप समेत लागेको थियो । महानगरपालिकाकी पूर्व कर्मचारी पत्रकार रश्मिला प्रजापति र अर्की पत्रकार उज्जला महर्जनले मन्त्री स्थापितले आफूहरुलाई यौन दुव्र्यवहारको प्रयास गरेको बताएका थिए ।
प्रजापतिले आफू महानगरमा हुँदा स्थापितले नगरकोट जान प्रस्ताव गरेको र महर्जनले अन्र्तवार्ता लिएपछि पटक पटक आफूलाई बेलुका फोन गरेर भेट्न प्रस्ताव गरेकी बताइएकी छिन् । मन्त्री स्थापितले भने दुवै आरोप गलत भएको र आफ्नो बदनाम गराइएको भन्दै कानूनी उपचारमा जानेबारे विचार गरिरहेको बताउँदै आएका छन् ।
‘मुख्यमन्त्री पौडेलको अपमान’
यी सबै विवादका बिच मन्त्री पदमै रहेका स्थापितको मन्त्री पद त्यो बेला खोसियो जुनबेला उनले मुख्यमन्त्री डोरमणि पौडेललाई नै अपमान गरे । बुधबार भएको बैठकमा स्थापितले मन्त्रालयमा पनि नबस्ने र कुनै काम पनि नगरेको विषयमा छलफल भएको थियो । सो बारेमा छलफलका क्रममा स्थापितले बैठकमा चर्काचर्की नै गरेका थिए । बैठकमा अपशब्द नै बोल्नेसम्मको दुश्प्रयास गरेपछि मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौँ गएका थिए । विवादले स्थानीयदेखि राष्ट्रिय पत्रिकासम्म भरिएको थियो ।
