विरेन्द्र राई स्मृति फुटसलको उपाधि विजय युथ क्लब हेटौँडालाई
हेटौँडा, ९ भदौ । हेटौंडामा सञ्चालन भएको वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधिसहित ५० हजार रुपैंया जितेको हो ।
उपविजेता बनेको इन्टरनेटले २५ हजार रुपैंयामै चित्त बुझाउन बाध्य भएको छ । फाइनल खेलमा इन्टरनेटमाथि विजय यूथ निकै हाबी भयो । शारीरिक रुपमा समेत निकै बलियो देखिएका विजय यूथको सामु इन्टरनेट निरिह बन्यो । विजयले सेमीफाइनलमा एचआइडी मर्निङ क्लवलाई हराएको थियो भने इन्टरनेटले ७ नम्बर फुटबल टिम हेटौंडालाई हराउँदै फाइनल भिडन्त पक्का गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै विजय यूथका राज पौडेलले नगद ५ हजार रुपैंया प्राप्त गर्दा इन्टरनेटका प्रितम स्याङ्बोले उदीयमान खेलाडीको पुरस्कार नगद २ हजार रुपैंया प्राप्त गरे । विजयी क्लव तथा खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यसमिति सदस्य एवम् फुटसल संघका संयोजक दावा लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामा, आयोजक एफसी मल्टिभिजनका अध्यक्ष विकेशलाल श्रेष्ठलगायतले नगद, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरेका हुन् ।
मकवानपुरको प्रतिनिधित्व गर्दै ए डिभिजन क्लवबाट आफ्नो फुटबल खेल कौशलता प्रश्तुत गरेका राईको स्मृतिमा फुटसलको आयोजना गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २१ टिमको सहभागिता रहेको थियो ।
