हेटौँडा उपमहानगरको कार्यप्रति नयाँ शक्ति असन्तुष्ट
हेटौँडा, ९ भदौ । नयाँ शक्ति पार्टी नेपाल, हेटौँडा उपमहानगर कमिटिले हेटौँडा उपमहानगरपालिकाको पछिल्लो गतिविधि नगरवासीको पक्षमा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । कमिटिको आज हेटौँडामा बसेको बैठकले उपमहानगरको गतिविधि नगरवासीको पक्षमा नभएको भन्दै १५ दिनभित्र पार्टीले आवश्यक सूचना माग गर्ने निर्णय समेत गरेको हो ।
त्यस्तै नगर संयोजक राजकुमार भेटवालको अध्यक्षतामा बसेको बैठकले नगर सचिवमा शिवप्रसाद भट्टराई र सहसचिवमा राजुकुमार रौनियारलाई चयन गरेको छ । बैठकले भदौ ५ गते पार्टीका जिल्ला परिषद सदस्य गोबिन्द पुडासैनीको असमायिक निधनले पार्टीलाई क्षति पुगेको भन्दै शोक प्रस्ताव समेत पारित गरेको छ । नगर कमिटिको बैठकले पार्टी सुदृढिकरण तथा विस्तार अभियान डेढ महिनासम्म सञ्चालन गर्ने समेत निर्णय गरेको पार्टीका जिल्ला कार्यालय सचिव राजेन्द्र सिम्खडाले जानकारी दिएका छन् ।
पार्टीका जिल्ला संयोजक जीवनमान मोक्तानको प्रमुख आतिथ्यतामा भएको बैठकमा कार्यालय सचिव राजेन्द्र सिम्खडा, संरक्षक समिति सदस्य डिबी लामा, जिल्ला सचिवालय सदस्य रमेश उप्रेती र तुफान विक्रम क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
