मकवानपुरको राक्सिराङमा पुगेन बैँकिङ सेवा
मकवानपुर, ७ भदौ । देशमा आमुल परिवर्तन भएको लामो समयसम्म पनि मकवानपुरको राक्सिराङ गाउँपालिका बैँक रहित भएको छ । मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा बैंकको शाखा सञ्चालन भएको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य अनुसार मकवानपुरमा हालसम्म ९ वटामा बैंक सञ्चालन भएका हुन् ।
राक्सिराङमा प्रहरी चौकी स्थापना नभएकाले सुरक्षाको दृष्टिकोणबाट बैंक सञ्चालन गर्न समस्या भएको जनाइएको छ । नेपाल राष्ट्र बैंकले देशमा सञ्चालित वाणिज्य बैंकहरुलाई आर्थिक वर्ष २०७४ र ७५ भित्रै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको थियो । त्यो समयसिमा कटेपनि मकवानपुरमा एउटा मात्र स्थानीय तहमा बैंक पुग्न बाँकी रहेको हो ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, वागमती, बकैया, मकवानपुर गढी, भीमफेदी, इन्द्रसरोवर, मनहरी र कैलाश गाउँपालिकामा भने विभिन्न वाणिज्य बैंकले शाखा सञ्चालन गरिसकेको छ ।
सरकारले बजेटमा नै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउने लक्ष्य लिएको थियो । त्यसअनुसार समयसीमा कटेको एक महिना नाघिसक्यो । अझै ११६ वटा स्थानीय तहमा बैंक पुगेका छैनन् ।
प्रदेश नम्बर ३ मा रहेका १ सय १९ स्थानीय तहमध्ये १ सय ७ स्थानीय तहमा बैंकले उपस्थिति जनाएका छन् । प्रदेश नम्बर ३ का १२ स्थानीय तहहरुमा भने अझै वाणिज्य बैंकहरुले उपस्थिति जनाउन सकेका छैनन् ।
