टोलटोलमा प्रहरी अभियान २०७५ कार्यक्रम शुभारम्भ

तु खबर संवाददाता
२०७५ भाद्र २, शनिबार १८:२०

काठमाडौं, २ भदौ । महानगरीय प्रहरी वृत्त सिंहदरबारद्वारा आयोजित टोलटोलमा प्रहरी अभियान २०७५ कार्यक्रमको प्रदेशसभाका सदस्य दिपेन्द्र श्रेष्ठ र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले शनिबार संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभाका सदस्य दिपेन्द्र श्रेष्ठले कार्यक्रम अर्थपूर्ण भएकाले समाजमा हुने अपराध रोकथाम गर्न हरेक नागरिक समाजको उत्तिकै उत्तरदायित्व रहने भएकाले यसका लागि प्रहरी र नागरिक समाजको सहकार्यमा अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरिक्षक लामाले यस अभियानलाई सार्थक बनाउन नागरिक समाजको सहकार्य र समन्वयको आवश्यकता हुने चर्चा गर्दै नागरिक समाजको विश्वाश जितेर मात्र समाजमा हुने विकृति, विसङ्गति निर्मूल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले समाजमा शान्ति सुरक्षाको चुनौती थपिदै गएको अवस्थामा नागरिक समाजको सहयोगमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।

नागरिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाको निराकरण महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीले गर्नुभएको थियो भने महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

सामुदायिक सेवा केन्द्र घट्टेकुलोका अध्यक्ष टंक श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका(११ का अध्यक्ष हिरालाल तण्डुकार, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सामुदायिक सेवा केन्द्र पुरानो बसपार्कका अध्यक्ष बिपेन्द्र खड्गी, अनामनगर समाज सेवाकी उपाध्याक्ष हरिफुँया पाण्डेले समाज सुधारका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विभिन्न विद्यालयका विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, उपत्यका सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, सम्वन्धित सरोकारवाला निकायका प्रतिनिधिहरु र वरिष्ठ प्रहरी अधिकृत तथा जवानको सहभागितामा उक्त अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र घट्टेकुलो, पुरानोबसपार्क लगायतको मार्गमा सचेतना र्याधली समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*