ए मलामीहरु हो !

तु खबर संवाददाता
२०७५ भाद्र २, शनिबार १७:५७
शिवकुमार काशी

शिवकुमार काशी
मलाई गाड्न तयार हौ मलामीहरु
तिमीहरुकै घोषणा मुताबिक म मरिसकेँ
मलाई जलाऊ, गाड वा कतै अन्धकारमा लगेर फाल
किन कि, म मरिसकेँ
मरिसकेको बस्तु फाल्नु तिमीहरुको कर्तब्य हो
किनकी तिमीहरु मलामी हौ
म एउटा मरिसकेको मान्छे ।

पानी छोएको निहूँमा एउटा मान्छे अर्काेबाट कुटिँदा
कालोमोसोले कालाम्य भएर दलिँदा
नाङ्गेझार पारेर चारपाटा मोडिँदा
मैले त्यसो नगर्नू भनेँ
उ पनि मान्छे नै हो भने
तिमीहरुको भीड बढी थियो
म एक्लैएक्लै तिमीहरुसँगै सकिन्जेल जुधिरहेँ ।
त्यसैले त म मरेँ ।

अर्काे दिन महिला र पुरुष ज्यामीको ज्याला समान मागेँ
आमा जातिमाथिको अवहेलना अस्वीकार्य छ भनेँ
घरी बोक्सी आरोपमा हजुरआमाहरु लखेटिए
घरी पैसाबिहीनहरुका छाला काटेर मृगौलाहरु खोसिए
घरजग्गा बेचेर विदेशिएका माइला र साइँलाहरु घर त फर्किए
तर घरबार बसाउन सकेनन् ।

स्याउलाले बारेको दिले दर्जीका झुप्राहरु आँधीहुरीले उडाउँदा रमिते बनेको समाज
छिमेकीको घरमा आगो दनदनी दन्किँदा खसी काटेर खाइरहेको छिमेकी
अनि त्यस्तै समाज र छिमेकी उत्पादन गर्ने यो व्यवस्था
त्यही ब्यवस्थाको अगुवाई गर्ने तिमीजस्ता थुप्रै थुप्रै मलामीप्रति
मैले सवेदना व्यक्त गर्दै
मैले कुरीतिका बिरुद्ध लडिरहँदा म मरेँ ।
जनजीविकाका कुरा गरिरहँदा म मरेँ ।
गरिवी र पछौटेपन हटाउने कुरा गरिरहँदा
र, जातीय विभेदको कुरा गरिरहँदा म बारम्बर मरेँ ।

शदिऔँदेखि सुखको तृष्णा पालेकाहरुलाई विश्वास दिलाइरहँदा
जाडोमा कक्रिएकाहरुका निम्ति न्यानो सारथी बन्दा
बलात्कृत सपनाहरुको पुनरुत्थानमा रुमल्लिँदा
तिमीहरु सबै मिलेर लखेट्यौ, कुट्यौ
र, पछि मृत घोषित भएछु
आखिर तिमीहरुको घोषणाका अगाडि मेरो के चल्थ्यो र !
म त मरिसकेको रहेछु
र, तिमीहरु मेरो मलामी जान तयार रहेछौ ।

कोही दाउरा बोकेर
कोही शंख फुकेर
कोही कोही ज्यावल बोकेर
मलाई फाल्न तिमीहरु तयार भएछौ ।
हो, तिमीहरुको घोषणामा म मरिसकेछु
आऊ मलामी हो मलाई जलाउ
आउ मलामी हो, मलाई गाड
जतिसक्दो यो काम गर
तिमीहरुलाई म ब्युँझने ठूलो डर होला
हुन पनि हो
म र महरु ब्युँझेको दिन तिमीहरु बाँच्नुको अर्थ हुने छैन
तिमीहरुको प्रायश्चित पनि निष्काम हुनेछन्
त्यसैले आऊ मलामीहरु हो
मलाई बिदा गर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*