करिब ४५ करोड लागतमा भीमफेदी–कोगटे–ईपा हुँदै काठमाडौँ जोड्ने पक्की सडक बन्ने
मकवानपुर, ३१ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गतको भिमफेदी बजारदेखि कोगटे–इपा हुँदै काठमाडौँसम्म पुग्ने छोटो मार्गको पक्की सडक बन्ने भएको छ ।
करिब ४५ करोड लागतमा बन्ने ‘भिमफेदी–कोगटे–इपा–देउराली रोड परियोजना’ निर्माण गरिएसँगै भिमफेदीबाट छोटो समयमा नै काठमाडौँ पुग्न सकिनेछ । सडक निर्माणका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाउँपालिका अध्यक्ष हिदम लामाले सो सडक परियोजना भीमफेदी गाउँपालिका र मकवानपुर जिल्लाकै लागि खुशीको खबर भएको बताएका छन् । ठेक्का पारेर सडक निर्माण अलपत्र पार्ने खेलमा केही निर्माण कम्पनी लाग्ने सक्ने सम्भावनालाई औँल्याउँदै उनले सामाजिक सञ्जालबाटै त्यस्ता नियत भएका निर्माण कम्पनीहरुले कुनै प्रयास नगर्न पनि आग्रह गरेका छन् । गाउँपालिकाको प्रत्यक्ष निगरानीमा सडक निर्माण गर्ने लक्ष्य भएको अध्यक्ष लामाले बताएका छन् ।
उनले लेखेका छन्, ‘झन्डै ४५ करोडको लागतमा भीमफेदी–कोगटे–ईपा हुँदै सबैभन्दा छोटो दुरीमा काठमान्डौ जोडिने पिच बाटो निर्माण गर्दै छौँ, कृपया ठेक्का पार्ने ,गुणस्तरीय काम र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीले प्रयास नगर्नु होला , गाउँपालिकाको प्रत्यक्ष निगरानी र सहभागितामा यो आयोजना ३ वर्षमै सम्पन्न गर्ने लक्ष्य छ ।
