मकवानपुरमा दुधको मुल्य बढाउन माग गर्दै विरोध प्रदर्शन
मकवानपुर, ३० साउन । दूधको मूल्य उचित ढंगले पाउनुपर्ने माग गर्दै मनहरीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत दूध संकलन गर्ने किसानहरुले हातमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरेमा रहेको दूग्ध संकलन केन्द्रमा दूध लिएर आएका किसानहरुले कालोपट्टि बाँधेर बिरोध जनाएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । केन्द्रीय कार्यक्रम अनुसार नै आन्दोलन गरिएको साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष बिमला कार्कीले बताइन् ।
किसानले उत्पादन गरेको दूधको मूल्यमा भएको कटौतीसहित दूग्ध विकास संस्थानको पुनसंरचना हुनुपर्ने, उत्पादित दूधको मूल्य ग्यारेन्टी हुनुपर्ने लगायतको माग किसानहरुले गर्दै आएका छन् । कार्यक्रममा सहकारीकी ब्यवस्थापक निर्मला कडरिया, सञ्चालक समितिका सदस्यहरु तथा किसानहरुको सहभागिता रहेको थियो ।
