मकवानपुरका कन्सल्टेन्सीलाई १० दिने परामर्श तालिम
मकवानपुर ३० साउन । मकवानपुरका विभिन्न शैक्षिक परामर्श केन्द्रहरुलाई शैक्षिक परामर्श तालिम प्रदान गरिएको छ । शैक्षिक परामर्श संघ मकवानपुरको आयोजनामा साउन २१ गते सुरु भएको तालिमको समापन आज गरिएको हो ।
तालिममा मकगवानपुरका विभिन्न शैक्षिक परामर्श केन्द्रका २५ जनाको सहभागिता रहेको थियो । तालिमलाई टि आई टि आईका वरिष्ठ प्रशिक्षक गोविन्द क्षेष्ठ र सरीता रेग्मीले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममै बोल्दै हेटौँडामा नेम ईन्स्टीच्यूट संचालन गरिरहेका किसोर अर्यालले अहिले मकवानपुरका शैक्षिक संस्थाहरुलाई राज्यबाट र प्रशासनबाट दुख दिने काम भईरहेको गुनासो गरे । उनले मकवानपुरमा कम्पनी दर्ता,नगरपालिकामा दर्ता,र भ्याट दर्ता भएर संचालनमा आएका र बाँकी सम्बन्धीत निकायमा दर्ता हुने प्रक्रियामा रहेकाहरुलाइृ पनि प्रशासनले गलत बुझेर दुख दिईरहेको गुनासो गरे । राज्यका विभिन्न निकायको क्षेत्राधिकारको कारण आफुहरुलाई शैक्षिक परामर्श केन्द्र दर्ताका क्रममा समस्या थपिएको सहभागिहरुको गुनासो थियो ।
हेटौंडा उपमहानगरपालिकाकी उप–मेयर एवम् कार्यक्रमकी प्रमुख अतिथि मिना कुमारी लामाले यस विषयमा नगरपालिकाले गम्भीर भएर सोच्ने र आवश्यक मद्धत गर्ने बताइन् ।
शैक्षिक परामर्श संघ मकवानपुरका अध्यक्ष शेखर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा संघकै उपाध्यक्ष युवराज दाहाल, सचिव सुवास सापकोटा लगाएतको उपस्तिथि रहेको थियो ।

